NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

‘दिदी’ आफू हारिन् तर पार्टीलाई दिलाइन् अत्यधिक बहुमत

कोलकाता । भारतको पश्चिम–बंगाल विधानसभा निर्वाचनमा ममता बनर्जी अर्थात् ‘दिदी’ नेतृत्वको पार्टी तृणमूल कंग्रेस (टीएमसी) ले लगातार तेस्रो पटक जीत हासिल गरेको छ । चुनाव आयोगका अनुसार हालसम्म टीएमसीले २०९ स्थानमा जीत हात पार्दा भारतीय जनता पार्टी (बीजेपी) ७६ स्थानमा मात्रै विजयी भएको छ । टीएमसीको अग्रता अझै ४ स्थानमा कायम छ भने बीजेपीले एक स्थानमा आफूलाई अघि उभ्याइरहेको छ । टीएमसीले अत्यधिक बहुमत हात पारे पनि नेतृत्वमा रहेकी बनर्जीले भने हार व्यहोरिन् । यद्यपि टीएमसीलाई राज्यमा फेरि एक पटक सरकार बनाउन बाटो भने खुलेको छ । यसको निर्क्योल आइतबार दिउँसो नै भइसकेको थियो । तर बनर्जी चुनाव लडिरहेको स्थान नन्दीग्राममा भने आइतबार अबेर रातिसम्म कौतुहलताको वातावरण बन्यो । चुनाव आयोगको घोषणाअघि नै दुवै पक्षले जीत हासिल गरेको भन्दै नाराबाजी सुरु गरे । तर ‘हाई-प्रोफाइल’ मानिएको यो भीडन्तको अन्तिम नतिजा भने आयोगले मध्यरातमा मात्रै सुनायो । जसअनुसार कुनै बेला बनर्जीका सहयोगीसमेत रहेका भाजपाका शुभेन्दु अधिकारी १ हजार ९५६ मतले अघि रहे । राज्यमा पार्टीलाई अत्यधिक बहुमत दिलाएपनि बनर्जीले आफ्नो सिट भने जोगाउन सकिनन् । नतिजापछि टीएमसीले नन्दीग्राम क्षेत्रको पुनः मतगणना गर्न माग गरेको छ । तर उक्त मागलाई चुनाव आयोगले खारेज गरिदिएको छ । टीएमसीले नन्दीग्राममा मतगणनामा गडबडी र अनियमितता भएको आरोप लगाएको छ । उसले चुनाव आयोगको फैसलाविरुद्ध अदालत जाने घोषणासमेत गरिसकेको छ । ‘चुनाव आयोगको खराब रबैयाविरुद्ध हामी सर्वोच्च अदालत जान्छौं,’ टीएमसीले भनेको छ । आइतबार मतगणना सुरु हुँदा बनर्जी केही समय अधिकारीभन्दा पछि थिइन् । तर केही समयपछि नै बनर्जीले लगातार मतान्तर बढाउँदै लगेकी थिइन् । दुवै नेताबीच मतान्तर ६ मतदेखि १२ सय मतसम्म रह्यो । तर अबेर राति सकिएको गणनापछि मात्रै अधिकारीले बाजी मारेको पुष्टि भएको थियो । जितपछि अधिकारीले बीबीसीसँग भने, ‘प्यार, विश्वास, आशिर्वाद र समर्थन प्रदान गर्ने र मलाई आफ्नो प्रतिनिधि चुनेकोमा नन्दीग्रामका जनताप्रति आभारी छु । म उहाँहरुको सेवा र कल्याणका काम निरन्तर गरिरहनेछु भन्नेमा विश्वास दिलाउन चाहन्छु ।’ केन्द्र सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले पश्चिम बङ्गालमा अघिल्लो विधानसभा निर्वाचनमा भन्दा धेरै सुधार गरे पनि अपेक्षित नतिजा भने प्राप्त गर्न सकेन । ५ वर्ष पहिले ३ सिटमा सीमित भाजपाले यसपटक बहुमत प्राप्त गर्ने दाबी गरेको थियो । तर भाजपाले बनर्जीको दल टीएमसीलाई पछि पार्न लगाएको परिश्रम भने निरर्थक सावित भएको छ । अघिल्लो निर्वाचनमा ४४ स्थानमा विजयी विपक्षी भारतीय कंग्रेसले भने खाता मात्रै खोल्न सक्यो । त्यसैगरी, सन् २०१५ मा २६ सिट जितेको कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) पनि एक सिटमै समेटिएको छ । बीजेपीका पश्चिम बंगाल अध्यक्ष दिलीप घोषले हार स्विकार गरेका छन् । आफ्नो पार्टीले निर्वाचनमा ठूलो लक्ष्य राखेको भए पनि हासिल गर्न नसकेको उनको भनाइ छ । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, ‘हामीबाट कहाँनेर चुक भयो त्यसको विश्लेषण गर्छौं । अघिल्लो चुनावमा भन्दा यसपटक जुन जीत मिलेको छ त्यो कम भने होइन ।’ यसैबीच, टीएमसीको जीतपछि सत्तारुढ भाजपा प्रमुख एवं प्रधानमन्त्री नरेन्द्र मोदीले बनर्जीलाई बधाई दिएका छन् । उनले बंगालमा केन्द्र सरकारले निरन्तर सहयोग गरिरहने समेत बताएका छन् । ‘पश्चिम बंगालमा जीतका लागि ममता दिदीलाई हार्दिक बधाई । जनताको भावनाअनुरुपको काम गर्न तथा कोभिड-१९ लाई परास्त गर्न पश्चिम बंगाल सरकारलाई सम्भव भएसम्मका सबै सहयोगका लागि केन्द्र सरकार तयार छ,’ मोदीले ट्वीटमा लेखेका छन् । पश्चिम बंगालका अतिरिक्त एक केन्द्र प्रशासितसहित ५ राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना अहिले भइरहेको हो । नयाँ नेतृत्वका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, असम र पान्डिचेरीमा निर्वाचन भएको थियो ।