NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

माधव नेपाल समूहका थप तीन सांसदलाई ओलीको स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार समूहका थप तीन जना सांसदलाई स्पष्टीकरण सोधेका छन् । ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो । कोरोना महामारीका कारण अहिले म्यासेन्जरबाटै स्पष्टीकरण सोधिएको र तीनैजना सांसदको तर्फबाट स्पष्टीकरणको जवाफ आइसकेको तामाङले जानकाी दिए । उनले सांसदहरुको तर्फबाट स्पष्टीकरणको जवाफ सकारात्मक आएको र आफूले अध्यक्ष ओलीलाई उक्त जवाफ पठाइसकेको जानकारी दिए । स्पष्टीकरण सोधिएकी सांसद कलिला खातुनका अनुसार स्पष्टीकरणमा नयाँ राजनीतिक दल खोल्न लागिएको हो ? भनेर साधिएको थियो । साथै सांसदबाट कारबाही किन नगर्ने भन्दै प्रश्न सोधिएको थियो । सात चैत्रमा अध्यक्ष ओलीले संशोधन गरेको विधान आफूले नपढेको भन्दै आफूहरु नवौं महाधिवेशन अनुसार हिँडेको जवाफ फर्काएको बताइन् । यी तीन जनालाई यसअघि स्पष्टीकरण सोधिएको थिएन । नेपाल समूहको गतिविधिमा सक्रिय अन्य केही सांसदलाई पनि स्पष्टीकरण सोधिएको छैन । बैशाख २७ गते ओलीले संसदबाट विश्वासको मत लिने बताइसकेका छन् । अहिले कुनै पनि सांसदलाई कारबाही भने नगरिने भएको छ । स्रोतका अनुसार विश्वासको मत लिने दिनमा एमालेका सांसदले देखाउने प्रतिक्रियापछि नै कारबाही गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिइने तयारी ओलीले गरेका छन् ।