NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

श्रमिकले मासिक १५ हजार पाउने सुनिश्चित

काठमाडौं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका थिए । प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा प्रकाशन गरेको हो । वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार नौ हजार ३ सय ८५ रुपैयाँ आधारभूत पारिश्रमिक र पाँच हजार ५ सय १६ रुपैयाँ महँगी भत्ता गरी मासिक १५ हजार रुपैयाँ हुने छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ थियो । मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक ३ सय ६१ रुपैयाँ र दैनिक महँगी भत्ता २ सय १६ रुपैयाँ गरी दैनिक ५ सय ७७ रुपैयाँ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा ७७ रुपैयाँ तोकेको छ । यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो । उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए । सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुई–दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।