NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप ११ जनाको कोरोनाका कारण मृत्यु

धनगढी/वीरेन्द्रनगर । कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरी थप ११ जना संक्रमितको मृत्यु भएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ संक्रमितको मृत्यु भएको हो । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया वृद्धा र वडा-१३ का २२ वर्षीय युवक छन् । वृद्धाको आज बिहान साढे २ बजे र युवकको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँंपालिका-८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेन परीक्षणबाट जाँच गर्दा रिपोर्ट पोजिटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको छ । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ घर भएका ७१ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमै उपचारका क्रममा मृत्यु भएको छ । एन्टिजेन परीक्षणबाट जाँच गर्दा रिपोर्ट पोजिटिभ आएकामा उनको आज बिहान ३ बजे मृत्यु भएको हो । उता बझाङका २६ वर्षीय पुरुषको गत वैशाख १४ मा एन्टिजेन परीक्षणबाट जाँच गर्दा कोरोना पुष्टि भएपछि सेती अस्पतालकै इमर्जेन्सी वार्डमा भर्ना भएकामा सोमबार राति साढे १० बजेका समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट पोजिटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उनको मृत्यु भएको जोशीले बताए । कोरोनाकै कारण कर्णाली प्रदेशमा सोमबार थप ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा-७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको डा. खड्काले बताए । उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोमबार ५ र आइतबार ३ जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पीसीआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा संक्रमण पुष्टि भएको डा. खड्काले जनाए । प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका ९ हजार १२८ संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै ७ हजार ६२२ जना (८७ प्रतिशत) निको भएर घर फर्केका छन् । २ हजार १९४ संक्रमित प्रदेशका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष