NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप ५ जिल्लामा निषेधाज्ञा, कञ्चनपुरमा एक साता लम्ब्याइयो

काठमाडौं । कोराना संक्रमितको सङ्ख्या बढ्दै गएपछि मुलुकका थप ६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । धनुषा, कञ्चनपुर, हुम्ला, पूर्वी नवलपरासी, डोटी र बागलुङका जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेका हुन् । धनुषामा आजदेखि आंशिक निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार वैशाख ११ सम्म हरेक बिहान ६ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ । यो अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको छ । पूर्वी नवलपरासीमा पनि आज मध्यरातबाट निषेधाज्ञा लागू हुने भएको छ । जिल्लामा ३०० भन्दा बढी सक्रिय संक्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्ने भएको हो । सोमबार बसेको डीसीसीएमसीको बैठकले वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिने निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो । सोमबार मात्रै जिल्लामा ७७ जना संक्रमित थपिएका छन् । योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३४६ पुगेको छ । दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ भने २७ जना निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । हुम्लामा पनि संक्रमण दर बढ्न थालेपछि डीसीसीएमसीको बैठकले आज राति १२ बजेदेखि २८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकको निर्णयअनुसार आदेश जारी गर्दै प्रजिअ गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गरेका छन् । निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लाका स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले संक्रमणबाट मृत्यु भएकाको शव जलाउन हरेक गाउँपालिकामा अन्त्येष्टि स्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय पनि गरेको छ । आजबाट हवाई यातायात मात्र हाेइन, जिल्लाको दक्षिणी क्षेत्रमा रहेका मुख्य नाका कवाडी, बालुकुना र चङ्खेली सिल गरिएको छ । एक हप्ताको निषेधाज्ञा अवधिमा एक पालिकाबाट अर्को पालिकामा आवतजावतसमेत बन्द गरिएको छ । सोमबार बिहान नेपालगञ्ज हुँदै हुम्ला पुगेका ४० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ जनामा कोरोना देखिएको थियो । जिल्लामा संक्रमित थपिने दर दिनहुँ बढ्दै गएपछि डोटी प्रशासनले आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । डीसीसीएमसीको बैठकको निर्णयानुसार प्रजिअ सुनिल खनालले वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन् । पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा संक्रमण देखिएको छ २ जनाको ज्यान गएको छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला सदरमुकामभन्दा पनि यहाँका ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधै गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा संक्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् । बागलुङमा पनि आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । डीसीसीएमसीको बैठकले वैशाख २१ देखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेपछि निषेधाज्ञा जारी भएको हो । समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा लागू हुनेछ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक रुपमा खुल्नेछन् । कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २२ को राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो । सोमबार डीसीसीएमसीका संयोजकसमेत रहेका प्रजिअ रामकुमार महतोको संयोजकत्वमा बसेको बैठकले औषधि उपचारबाहेक अन्य कार्यका लागि घरबाट बाहिर जान निषेध गरेको छ । स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको छ । तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाइने निर्देशन जारी गरिएको छ । मालबाहक ढुवानीका साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिसमा प्रजिअबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिनेछ । विवाह तथा व्रतबन्धको लागि अनुमति तथा पास जारी गर्ने कार्य सम्बन्धित ‘क’ वर्गको इलाका प्रहरी कार्यालयले बढीमा १५ जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी अनुमति दिन सक्नेछ । अत्यावश्यक अवस्थामा नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सकिने व्यवस्था गरिएको छ । अन्य खुला सिमानाको जुनसुकै विन्दुबाट आवागमन नगर्ने, नेपाल प्रवेश गर्ने कञ्चनपुरवासीका हकमा सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टाइन, आइसोलेसन बस्नुपर्ने तथा जिल्ला बाहिरका नागरिकको हकमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणपश्चात् होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको समन्वयमा गन्तव्यमा पठाइने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष