NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गेट्स दम्पत्तीले गरे २७ वर्ष लामो वैवाहिक सम्बन्ध विच्छेद

सिएटल, अमेरिका । विश्वकै सर्वाधिक धनीमध्येका बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्धविच्छेद् गरेका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सञ्चालक जोडीले सन् १९९४ मा हवाइको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि विच्छेद् गर्ने निर्णय गरेका हुन् । यसबारे उनीहरुले ट्वीटरमार्फत् संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन् । ‘विगत २७ वर्षमा हामीले तीन अद्भूत सन्तानहरू हुर्काएका छौं र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौं । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौं र उक्त कोषमा मिलेर काम गर्नेछौं । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भएको बताइएको छ । फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन् । उनको सम्पत्ति १२४ अर्ब अमेरिकी डलर छ । उनी माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष पनि हुन् । उक्त जोडीले ‘लामो सोचविचारपछि वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको’ ट्विटरमा लेखेको छ । सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा कर्मचारीको रूपमा काम गर्ने सिलसिलामा भेट भएको थियो । मेलिन्डा प्रोडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएकी थिइन् । तीन सन्तानका अविभावक बनिसकेका उनीहरूको निर्णयलाई अनपेक्षित मानिएको छ । दुवैले सञ्चालन गरेको परोपकारी संस्थाले संक्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौं डलर खर्च गर्दै आएको छ । (रासस/एपी)