NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चरक अस्पतालको आईसीयूमा रहेका सांसद शाहीलाई गरिमा होटलमा सिफ्ट गरियो

पोखरा । अविश्वास प्रस्तावको मतदानको दिन अचानक सम्पर्कविहीन भई चरक अस्पतालको आईसीयूमा भेटिएका राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खिमबहादुर शाहीलाई होटलमा सिफ्ट गरिएको छ । शाहीलाई कोभिड संक्रमण भएको निजी ल्याबको रिपोर्टले देखाएको थियो । सांसद शाहीको १५ गते आएका ३ वटा पीसीआर रिपोर्टमा अलग अलग नतिजा आएको छ । १४ गते प्रदेश सभा सचिवालय परिसरमा लिएको स्वाबको नतिजा नेगेटिभ आए पनि १४ गते नै लिइएको भनिएको अर्को स्वाब परीक्षणमा भने कोरोना पोजेटिभ देखिएको थियो । उनको भनिएको दोस्रो स्वाब लाइफकेयरमा परीक्षण गर्दा सिटी भ्यालु १६ उल्लेख थियो । तर, सोही दिन परीक्षण गरिएको अर्को स्वाबमा कोरोना पोजेटिभ नै भए पनि सिटी भ्यालु ३९ छ । तर, उनले चरक अस्पतालमा बसेको तेस्रो दिन आफू अचानक बेहोस भई अस्पतालमा उपचाररत रहेको भनि विज्ञप्ति जारी गरेका थिए । उनले आफू बिरामी नै परेको र कोही कसैको मोलाहिजामा नफसेको बताउँदै आएका छन् । शाहीलाई मंगलबार अस्पतालबाट डिष्चार्ज गरेर नागढुंगाको गरिमा होटलको आइसोलेशनमा राखिएको उनका स्वकीय सचिव ढालेन्द्र हमालले जानकारी दिए । आज उनको पुनः स्वाब परीक्षण गरिनेछ ।