NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अस्पताल चहार्दा–चहार्दै कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम । धनुषामा अस्पताल चहार्दा–चहार्दै एक कोरोना संक्रमितको मृत्यु भएको छ । श्वास लिन कठिनाई भएपछि उपचारका लागि जनकपुरका अस्पताहरु चहारे पनि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा संक्रमित पुरुषको मृत्यु भएको हो । धनुषाको बटेश्वर गाउँपालिका ४ का ४० वर्षीय लोकबहादुर परियारलाई ४÷५ दिनदेखि स्वास्थ्यमा समस्या आएको थियो । स्थानीय मेडिकलबाट औषधि लिएर घरमै बसिरहेका परिवारलाई सामेबार गाह्रो भएपछि जनकपुर लगिएको थियो । जनकपुर प्रादेशिक अस्पताल, जानकी हेल्थ केयर र रामजानकी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, कुनै पनि अस्पताललाई उनको भर्ना लिन मानेनन् । सबै अस्पतालहरु चहार्दा पनि भर्ना नपाइएपछि आफन्तले घर फर्काएका थिए । मंगलबार बिहान पुनः श्वास प्रश्वासमा समस्या देखिएपछि परिवारलाई आफन्तले स्थानीय आरपी मेडिकल लगे । तर, त्यहाँ पुगेपछि परियारको मृत्यु भयो । मृत्युपछि आफन्तहरुले परियारको शव सोही अस्पताल अगाडि नै छाडेर हिँडेका थिए । उक्त क्लिनिक सञ्चालक सुवोध साहका अनुसार सोमबार उपचारमा ल्याउँदा आफूले बाहिरका अस्पतालमा लैजान सुझाव दिएको बताए । ‘जनकपुरमा कुनै अस्पतालले भर्ना नलिएपछि आफन्तले राति घर फर्काएका रहेछन्,’ मेडिकल सञ्चालक साहले भने, ‘बिहान फेरि यहाँ नै उपचार गर्न ल्याए । तर, क्लिनिक अगाडि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।’ मृत्यु भएको जानकारी पाएलगत्तै आफन्तहरु शव त्यही छाडेर घरतर्फ लागेका थिए । अलपत्र अवस्थामा शव छाडिएपछि स्थानीयले नेपाली सेनालाई खबर गरेका थिए । सेनाले स्वाब संकलन गरी शवको व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय धुनुषाले जनाएको छ ।