NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोरोना जोखिममा पनि स्वास्थ्यकर्मीले काम पाएनन्

सुर्खेत । कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण काम गर्न नसकिएका समाचार बारम्बार देख्न र पढ्न पाईन्छ । तर, कोभिड—१९ को दोस्रो लहरको जोखिममा अग्रपंक्तिमा खटिनुपर्ने सुर्खेतका ४५ जना स्वास्थ्यकर्मीहरु अहिले बेकामे अवस्थामा रहेका छन् । सुर्खेत जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रबाट रमाना लिएर वीरेन्द्रनगर नगरपालिकामा आएका स्वास्थ्यकर्मीहरु यो कोरोना महामारीले आक्रान्त पारेको बेलामा पनि काम नपाएर बसिरहेका छन् । वीरेन्द्रनगर नगरपालिकाले हाजिर गर्न नदिएपछि उनीहरुले काम नपाएका हुन् । उनीहरुले हाजिर गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्रसमेत बुझाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत चैत २६ गतेको मन्त्री स्तरको निर्णय र गत चैत ३१ गतेको सचिवस्तरको निर्णय अनुसार स्वास्थ्यका कर्मचारीहरु विभिन्न स्थानदेखि रमाना लिइ वीरेन्द्रनगर नगरपालिकामा हाजिर हुन आए पनि नगरपालिकाले हाजिर नगराएपछि उनीहरु कामविहीन बनेका छन् । नगरपालिकाले वैशाख १३ गते हाजिर गराउन नसक्ने सूचना सार्वजनिक गरेपछि ती स्वास्थ्यकर्मीहरु अहिले अलपत्र बनेका छन् । अलपत्र पर्ने मध्येका एक सिअहेव उदय थापाले कोरोना नियन्त्रणको काममा अग्रपंक्तिमा खटिनुपर्ने स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले हाजिर नगराएर बेकामे बनाएको आरोप लगाए । यसअघि थापा वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक भएर काम समेत गरिसकेका छन् । आफूहरु कार्यरत रहेको बराहताल स्वास्थ्य चौकीबाट रमाना लिइ वीरेन्द्रनगर नगरपालिका आइसकेको र हाजिर गराउनभन्दा नगराएको उनको गुनासो छ । थापाका अनुसार बराहतालमा बाहिरबाट आउने स्वास्थ्यकर्मीहरुसमेत हाजिर भइसकेका छन् । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकामा हाजिर हुन रमाना लिएर आएका ४५ जना स्वास्थ्यकर्मी छन् । उनीहरु कसैलाई नगरपालिकाले अहिलेसम्म हाजिर गराएको छैन । थापाले पहिला नगरपालिकाले आउन सहमति दिएर अहिले हाजिर नगराएर बदमासी आरोप लगाए । सरकारले संकटको समयमा स्वास्थ्यकर्मीहरुलाई विदा नदिन, अग्रपंक्तिमा खटिन निर्देशन दिएका बेला वीरेन्द्रनगर नगरपालिकाले भने यतिधेरै स्वास्थ्यकर्मीहरुलाई हाजिर नगराएर मानिसको स्वास्थ्यसँग खेलवाड गरेको आरोप थापाको छ । नगरपालिकाले हाजिर नगराएर आफूहरुलाई अन्यायमा पारेको र बेकामे बनाएको हुँदा अविलम्ब हाजिर गराई जिम्मेवारी दिन थापाले माग गरे ।‘हामीलाई पहिले नगरपालिकाले आउन सहमति दिएको हो, अहिले हाजिरी हुन दिईएको छैन, यो सरासर षडयन्त्र हो’, थापाले भने, ‘महामारीका बेलामा काम नदिनु भनेको नगरपालिकाको षडयन्त्र हो, जनताको स्वास्थ्यसँग खेलवाड हो ।’ यता वीरेन्द्रनगर नगरपालिकाले भने वैशाख १३ गते सूचना प्रकाशित गरी विभिन्न कारण देखाई हाजिर गराउन नसक्ने जनाएको छ । नगरप्रमुख देवकुमार सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा संयुक्तरुपमा हस्ताक्षरित सूचनामा नगरपालिकामा हाल नर्सिङतर्फ १६ र पारामेडिक्सतर्फ २५ गरी कूल ४१ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेकोले कुनै पनि पद रिक्त नरहेको हुँदा रमाना लिएर आएका स्वास्थ्यकर्मीहरुलाई हाजिर गराउन नसक्ने जनाइएको छ । यस्तै नगरपालिकामा नेपाल स्वास्थ्य सेवातर्फ कार्यरत कर्मचारीहरुको तलवभत्ता लगायतका सुविधाहरु यस नगरपालिकाबाट नभइ सशर्त अनुदानबाट प्राप्त बजेटबाट उपलव्ध गराइएकोले चालु आर्थिक वर्षका लागि मन्त्रालयबाट खटाइएका कर्मचारीहरुलाई तलबभत्ता भुक्तानी गर्न नसकिने हुँदा हाजिर गराउन नसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत चैत ३१ गते नै विभिन्न कारणहरु राखेर मन्त्रालयबाट कर्मचारी नपठाइदिन हुनपत्र पठाए पनि मन्त्रालयले पठाएको हुँदा हाजिर गराउन नसकिने बताइएको छ । यद्यपि नगरपालिकामा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा शहरी स्वास्थ्य केन्द्रका लागि मन्त्रालयबाट दरवन्दी संरचना स्वीकृत गरी राष्ट्रिय कितावखानामा पद दर्ता भइ आएमा मात्र कर्मचारीहरुलाई कामकाजमा लगाउन सकिने नगरपालिकाले जनाएको छ । यस सम्वन्धमा जिल्ला प्रशासन कार्यालयले पनि समाधानको गृहकार्य थालेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले स्वास्थ्यकर्मीहरुलाई हाजिर गराउने सम्वन्धमा नगरपालिका र मन्त्रालयसँग पहल भइरहेको र केही दिनभित्र समाधान निस्कने बताए ।