NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीलाई बहुमत पुर्‍याउन जसपाको भर, माधव नेपालको नयाँ ‘कार्ड’ले डरैडर

काठमाडौं । २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेपछि सम्भावित समीकरणका अनेक पक्षबारे चर्चा परिचर्चा सुरु भएको छ । अहिलेकाे प्रतिनिधिसभा २७५ सदस्यीय हो । तर, अहिले कांग्रेसका दुई, जसपाका दुई गरी ४ सांसद निलम्बित छन् । माओवादी छोडेर चार सांसद एमाले प्रवेश गरेपछि चार सिट खाली हुँदा ८ सांसदले भोट हाल्न पाउँदैनन् । यस्तोमा संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादीका ४९, जसपाका ३१, जनमोर्चा, राप्रपा र नेमकिपाका ११ गर्दा २६७ को संख्या हुन आउँछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २६७ को बहुमत आर्थत् १३४ सांसद पुर्याउनुपर्ने हुन्छ । यस्तोमा सिंगो एमालेको १२१ मा थप १३ सिट ओलीलाई आवश्यक पर्छ । यस्तोमा विभाजित अवस्थामा रहेको जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदले विश्वासको मत पुग्ने गरी मत दिन सक्छन् । तर, यतिखेर एमालेमा माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने चर्चा चलिरहेको छ । प्रतिनिधिसभामा नेपाल पक्षका सांसद ३१ जना छन् । जहाँ प्रत्यक्ष चुनाव जितेका २१ र समानुपातिकतर्फका सांसद १० जना रहेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कारवाही गर्ने प्रयास स्वरुप स्पष्टीकरण सोधिसकेका छन् । ओलीले एकलौटी पार्टी चलाएको र आफूहरुलाई किनारामा पुर्याएको भन्दै उनीसँग नझुक्ने तर समानान्तर गतिविधि अघि बढाउने अभ्यासमा छन् । यस अघि गरिएका कारवाही फिर्ता नलिए ओलीलाई विश्वासको मत नदिने पक्षमा नेता नेपाल समूह छ । ओलीले कारवाही गर्दा समानुपातिकतर्फका सांसद तत्काल नयाँ चयन गर्न पाए पनि प्रत्यक्षतर्फका सांसद भने चुनावबाटै आउनुपर्छ । यस्तोमा कारवाही गर्दा ओलीलाई नै बहुमत पुरयाउन जटिल हुने देखिएको छ । आफूहरुमाथि कारवाही हुने नै भए ओलीलाई थप अप्ठ्यारो पार्ने गरी नेपाल पक्षका निर्वाचित सांसदले राजीनामा दिने विषयमा छलफल अघि बढाएका समाचारहरु आएका छन् । केन्द्र मात्रै हाेइन प्रदेशमासमेत सामूहिक राजीनामा दिएर समीकरणमा अप्ठ्याराे पार्ने तयारी नेपाल पक्षकाे छ । यस्तोमा एमालेमा नेपाल पक्षका २१ प्रत्यक्ष सांसदले राजीनामा दिए २४५ सांसदको बहुमत जुटाउनुपर्ने हुन्छ । २४५ को बहुमत जुटाउन १२३ सांसदको आवश्यकता पर्छ । यस्तोमा एमालेमा १२१ बाट २१ घट्दा १०० सांसद हुन्छन् । ओलीलाई विश्वासको मत लिन पूरै जसपाको साथ भए सहज हुन्छ । अन्यथा जसपा फुटेर आधा भए पनि उनलाई बहुमत पुग्ने छैन । जसपामा पूर्व राजपाका १५ सांसद (महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष) छन् । अर्को पूर्व समाजवादी पार्टीका तर्फबाट डा. बाबुराम भट्टराई र उपेन्द्र यावदका पक्षमा १७ सांसद छन् । यो पक्ष कुनै हालतमा ओलीलाई भोट नदिने मनस्थितिमा छ । जसपाका आधा सांसद र अन्य तीन सांसदले साथ दिए पनि ओलीलाई बहुमतका लागि १२३ सिट पुग्ने छैन । ओलीलाई गलाउने मौका आफूलाई बहुमत नपुग्दा अर्को पक्षले बहुमत पुर्याउने अवस्था आए देश तत्काल निर्वाचनमा जाने अवस्था बन्दैन । सकेसम्म ओलीको दाउ सके आफैं बहुमत पुर्याउने नभए अरुलाई बहुमत पुग्न नदिएर देशमा मंसिरमा चुनाव गर्ने भन्ने छ । तर, यसपटक आफूले बहुमत जुटाउन नसके अर्को पक्षलाई बहुमतबाट रोक्न सक्ने विकल्प ओलीसामू देखिंदैन । एमालेको विवादलाई साम्य बनाउन तयार भए अरु दलको बहुमत रोक्न ओली सफल हुनेछन् । अन्यथा नेपाल पक्षले असहयोग गरे भोट क्रस गरे ओलीलाई यसपटक अप्ठ्यारो पर्ने देखिन्छ । यसैले ओलीले माधव नेपाल पक्षलाई गरेको कारवाही फिर्ता लिएर माओवादीसँग एकता गर्नु अघिको एमालेको अवस्थामा नफर्काए यसपटक सहज हुने देखिएको छैन । यस्तोमा कारवाही फिर्ता लिए ओलीलाई नै विश्वासको मत दिने तयारी नेपाल पक्षको छ । तर, सधैं पेलानमा पर्ने गरी सत्ता मात्र जोगाउने गरी मत दिन यसपटक नेपाल पक्ष तयार छैन । तर, पूर्व माओवादीका प्रभावशाली नेताहरुलाई समेत आफूतिर तानेर संगठनको स्वरुप नै बदलिसकेका ओली पूर्ववत् अवस्थामा पार्टीलाई फर्काउन तयार छैनन् । तर, नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा फर्काउनुपर्ने अडान लिंदै आएको छ । कांग्रेस–माओवादीले बहुमत पुर्याउन सक्ने माधव नेपाल पक्षका सांसदले राजीनामा दिए अर्कोतिर ओलीविरुद्ध १२३ सिट बनाउन कांग्रेस, माओवादी , जसपाको असन्तुष्ट पक्षलाई सहज हुने देखिएको छ । कांग्रेसको ६१, माओवादीको ४९ मत जोड्दा ११० सिट हुन्छ । यस्तोमा बहुमत पुर्याउन थप १३ सिटको आवश्यकता पर्छ । जसपाको भट्टराई यादव पक्षका आधा सांसदले मात्रै भोट हाले ओलीविरोध गठबन्धनमा बहुमत पुग्ने अवस्था रहन्छ ।