NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महामारीमा कमाऊ धन्दा, लाखौंको अवैध सूर्ति बरामद

सुर्खेत । देशमा कोरोना संक्रमणको महामारी फैलिएको अवस्थामा नागरिकहरुलाई हिँडडुल गर्न समस्या भइरहेको छ । निषेधाज्ञाका कारण दैनिक मजदुरी गरी गुजारा गर्ने नागरिकहरु रोग र भोकको चपेटामा परिरहेका छन् । मृत्युसँग पौठेजोरी गरिहेका छन् । तर, महामारीलाई कालोबजारी गर्नेहरुले ठूलो अवसरका रुपमा पनि लिइरहेको देखिएको छ । निषेधाज्ञा कै बीचमा नै सुर्खेतमा अवैध सुर्तिजन्य पदार्थको कारोबार गर्नेहरु प्रशासनको फन्दामा परेका छन् । मंगलबार नै सुर्खेत प्रहरीले ठूलो परिमाणमा राजश्व छली गरेको सूर्तिजन्य पदार्थ बरामद गरेको छ । नेपालगन्जदेखि सुर्खेत लिईदै गरेको ना ४ ख ७६५३ नम्बरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा नियन्त्रणमा लिई खोजतलास गर्दा ठूलो मात्रामा राजश्व छली गरेर ल्याईएको सूर्तिजन्य पदार्थ बरामद भएको हो । गोल्डेन काली नामको सूर्ति प्रहरीले ५४ बोरामा २६ सय प्याकेट नियन्त्रणमा लिएको छ । न्यू पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्बर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्बर ३०५६५३२५७ मा भ्याटसहित १३ लाख ६६ हजार १ सय ७० रुपैयाँको बिल बनाएर सूर्तिजन्य पदार्थ पठाएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले नियन्त्रणमा लिएको ट्रक र अवैध समानका बारेमा अनुसन्धान भइरहेको बताए । यस्तै २ दिनअघि पनि राजश्व छली गरेको गोर्खा टोवाद्वारा उत्पादित सूर्तिजन्य पदार्थ प्रहरीले जफत गरेर आन्तरिक राजश्व कार्यालय सुर्खेतमा बुझाएको थियो । आन्तरिक राजश्व कार्यालय सुर्खेतले १४ लाख धरौटी माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले राजश्व छलीका सूर्तिजन्य पदार्थ नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा बुझाएपछि अहिले गोर्खा टोबाबाट १४ लाख धरौटी माग गरिएको हो । विगो अनुसार १४ लाख धरौटी तोकिएको आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रमुख राम मैनालीले बताए । मुद्दा नटुंगिए पनि बिगो अनुसारको धरौटी तोकिएको मैनालीले जनाए । ‘धरौटी रकम लिएसँगै राजश्व छली अभियोगमा मुद्दा अगाडी बढ्छ’, मैनालीले भने । कर्णाली प्रदेश ०२–००१क०१२१ नम्वरको ट्रकमा राजश्व छली गरि बिक्रीका लागि लगिएको सूर्ति प्रहरीले बरामद गरेको थियो । अन्य खाद्य सामग्रीसँगै २५ बोरा राजश्व छलीका सूर्तिजन्य पदार्थ प्रहरीले बरामद गरी राजश्व कार्यालयमा बुझाएको थियो । सुर्खेत बजारका मार्सल जनरल स्टोस र श्री माता सप्लायर्सबाट अवैध सूर्तिजन्य पदार्थ बिक्रीका लागि लगिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । वेलकम र गोल्डेन लिप्स सूर्ति बजारमा राजश्व छलेर बिक्री गरेको पाइएको छ । अहिले स्थानीय बजारमा अभाव देखाएर प्रति गोटा सुर्तीको ८० रुपैयाँसम्म ब्यापारीहरुले असुल्ने गरेकाछन् । गोर्खा टोबाले सुर्खेत लगायत पहाडी जिल्लामा अवैध सूर्तिजन्य पदार्थबाट करोडौं रकम अवैध कमाउने गरेको आरोप लाग्दै आएको छ ।