NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ओलीले लिने विश्वासको मतलाई कांग्रेसले असफल बनाउने, जारी अध्यादेशप्रति पनि आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार संविधान र संसदीय अभ्यासविपरीत चलेको आरोप लगाएको छ । सरकारले एकपछि अर्को अध्यादेश जारी गर्ने असंवैधानिक कदम चालेको कांग्रेसको ठहर छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले ओली नेतृत्वको सरकार असंवैधानिक कदममा उद्धत रहेको निष्कर्ष निकालेको छ । कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको छ । यसैगरी सभापति देउवाले आजै विज्ञप्ति जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भनी आपत्तिजनक जनाएका छन् । ‘संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । आइतबार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बस्दै छ । ‘विश्वासको मतलाई असफल बनाउँछौं’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको उक्त बैठकले यस्तो निर्णय गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।