NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पशुपतिको त्यो कारुण दृश्य : जहाँ आफ्नैले बिदाई गर्न पाउँदैनन्

काठमाडौं । केही दिनअघिसम्म कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुलाई जलाइने पशुपतिको दृश्य भिन्न हुन्थ्यो । आफन्तहरु विद्युतिय शव गृहको प्रांगढमा हुन्थे । दागबत्ती दिन नपाएपछि गेट बाहिरैबाट सुरक्षित रहेर फूलमाला अर्पण गर्न पाउँथे मृतकका आफन्तहरु । सन्नाटाबीच पशुपतिको दृश्यमा मृतकको लास सेनाले विद्युतिय शव गृहमा जलाउन लागेपछि रोधन गुञ्जिन्थ्यो । कतिले त भक्कानिएर मृतकसँगको नाता पुकार्थे । तर, अहिलेको दृश्य विल्कुल फरक छ । दैनिक संक्रमितको संख्या उकालिदैं जाँदा पशुपतिमा रहेका दुई विद्युतिय शव गृहको क्षमताले मृतकको संख्या धान्न छाडेको छ । सोमबार बिहान त झन दुवै शव गृह बिग्रिएका थिए, जसकारण विद्युतिय शव गृहको सामुन्ने बागमती किनारमै लासहरु जलाउन थालियो । साँझसम्म एउटा मेसिन पुनः सञ्चालनमा आयो । तर, मृतकको शवलाई धान्न मुस्किल थियो, जसकारण बागमती किनारमै शवदाहलाई निरन्तरता दिइयो । दिनभर ३० जनाभन्दा धेरै मृतक जलाइयो यहाँ । सोमबार यता एउटा विद्युतिय शव गृहसँगै बागमती किनारलाई पनि कोरोना संक्रमणका कारण मृत्यु हुनेको अन्तिम संस्कारलाई प्रयोग गरिन थालिएको छ । मंगलबार दिउँसो १२ः ३२ मा बागमती किनारमा ६ वटा लास एकसाथ जलिरहेका थिए । केही मृतकका आफन्तहरु शवगृहकै प्रांगढमा विलाप गरिरहेका थिए । काखमा सम्भवतः एक वर्षभन्दा मुनिको बालक लिएर उभिएकी एक महिला अर्की महिलाको काँधमा मुन्टो अड्याएर अँध्यारो अनुहार बनाइरहेकी थिइन् । यस्तो बेला कसको आँट होला उनीसँग संवाद गर्ने ? यता बागमती किनार, जहाँ लास जलाइएको छ, त्यसको ठीक सामुन्ने नदीपारी केही पत्रकारसँगै मृतकका आफन्तहरु सेनाले जलाइरहेको आफन्तको लासलाई अन्तिम पटक नियालिरहेका थिए । उनीहरुकै आँखा सामुन्ने उनीहरुको प्रियजनको लास शनै शनै खरानी बनिरहेको थियो । एक युवक, हेर्दा १७/१८ वर्ष लाग्ने, यहिँ भिडमा थिए । पत्रकारहरुले क्यामेरा तेर्साएर जलिरहेको लासको फोटो खिचिरहँदा उनको आँखा भने भिजेको थियो । हातमा माटोको घडा बोकेर बसिरहेका उनीसँगै उनका आफन्तहरुले जलिरहेका लासहरुतर्फ एकटकले हेरिरहेका थिए । उनीसँगैका एक आफन्तले भने, ‘लास जलिसक्न लाग्यो । उता गएर अस्तु लैजानुपर्छ ।’ आफन्तको बोलीसँगै ती युवक उनकै पछि लागे । अड्कल लाग्थ्यो, जलिसक्न लागेको पहिलो लासकै कुरा उनीहरु गरिरहेका थिए ।आफन्त पछ्याउँदै ती युवक बोले, ‘कहाँबाट लिने ?’ पारीपट्टी नेपाल आर्मीले लास जलाइरहेभन्दा केही परतिर डोरी टाँगिएको थियो । त्यहिँ ठाउँतर्फ संकेत गर्दै उनको आफन्त बोले, ‘त्यहाँबाट लिने होला ।’ सामान्यतयः पशुपतिमा दैनिक ५०/६० लास जल्छन् । तर, संक्रमणका कारण मृत्यु भएकाहरुको लास जलिरहेको ठाउँ र नियमित लास जलाइने ठाउँको वातावरण भिन्न छ । एकातिर होहल्ला छ, भिडभाडबीच आफन्तलाई बिदाइ गर्न आएका मानिसहरु छन् । अर्कातिर, आफन्तलाई अन्तिम बिहाइसमेत गर्न नपाएकाहरु टाढाबाट हेरि मात्र रहेका छन् । निषेधाज्ञाबीच सडकमा हिँडिरहेका मानिसहरु पनि पशुपति सामुन्ने तिलगंगाअघिको पुलमा उभिएर जलाइरहेको लास नियालिरहेका छन् । कतिपय त आफ्नो सवारी साधन रोकेरसम्म हेरिरहेका छन् । यता विद्युतिय शव गृहको अवस्था झन् विरक्त लाग्दो छ । आफन्तलाई फूलपाती चढाएकाहरु शवगृहको आँगनमा चुपचाप छन् । केहीका आँखाबाट बगेका आँशुको टाटा स्पष्ट देखिन्छ । तपाईं आफैं सोच्नुस त, यो अवस्थालाई कसरी तस्बिरमा लिनु वा शब्दमा वर्णन गर्नु ? अन्तिम पटक नियालेर अनुहारसमेत हेर्न नपाएका आफन्तहरुको पीडालाई जिस्क्याएजस्तो मात्रै हुन्छ सायद । ६ वटा लास एकसाथ जलिरहँदा शवगृहको आँगनमा तीनवटा लास छन् । समय दिउँसोको १ ः २४ पुगेको छ । नेपाली सेनाले आँगनमा भएको एउटा लास बोकेर मृतक जलाइरहेतर्फ आउँछन् । लास बोक्नुअघि लासलाई स्यानिटाइज गरिन्छ । आफन्तले चढाएको फूलपातीसँगैको लास बोकेर सेना अघि बढेछ । लास बोक्नुअघि सलामी दिन भुल्दैनन् उनीहरु । यता मृतकको लास बोकेसँगै फलामे बारमा अडेश लागेकी महिला रुन थाल्छिन् । सन्नाटाबीच उनको रुवाई प्रष्ट सुनिन्छ । सान्त्वनाको निम्ति उनको नजिकै रहेकी अर्की महिला उनलाई सम्हाल्दा सम्हाल्दै आफूलाई सम्हाल्न सक्दिनन् । उनको आँखाबाट बगेको आँशु पनि स्पष्ट छ । तर, दर्जनौं मानिस उपस्थित विद्युतिय शव गृहको आँगन मानिसविहीन पर्याय छ । अरु बेलाजस्तो अन्तिम संसार हुँदा सुनिने चिच्चाहट आज यहाँ सुनिएको छैन । मात्र, उदास अनुहारहरु देखिएका छन् । एउटा लास लगेको केही बेरमै फेरि नेपाली सेनाको टोली अर्को लास लिन आइपुग्छ । समय १ः ३८ भएको छ । उसैगरी मृतकलाई आफन्तहरुले फूलपाती चढाइरहेका छन् परैबाट । सेना त्यो लास पनि बोकेर शव जलाएतर्फ अघि बढ्छ । शव गृहको सामुन्ने नेपाली सेनाले राखेको वाइटबोर्डमा लेखिएअनुसार हालसम्म १० वटा शवको दाहसंस्कार भइसकेको छ भने ८ वटा लासहरु दाहसंस्कार भइरहेका छन् । शव गृहमा रहेका सेनाका अनुसार यो संख्या साँझसम्म बढेर ३० भन्दा माथि पुग्छ । एक महिनाअघिसम्म सामान्य जनजीवन बाँचिरहेका उपत्यकाबासी अहिले देशभरकै सबैभन्दा धेरै संक्रमण पुष्टि हुने जिल्लाभित्र छन् । दैनिक हजारौंको संख्यामा संक्रमण पुष्टि भइरहेको छ देशभर । उपत्यकामा मात्रै मंगलबार ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आधा घण्टापनि नबित्दै नेपाली सेनाले दुईवटा थप शवहरु जलाउन सुरु गरेको छ । शव जलाइएको उत्तर दिशामा डोजरले थप ठाउँ सम्याएर लास जलाउन समथल बनाउँदै छ भने थप केही चिताहरु तयारी अवस्थामा राखिएको छ । शवगृहको उत्तरपट्टी सेनाले डोरी टाँगेर आफन्तलाई अस्तु दिने ठाउँ बनाएको छ, जहाँ लास जलिसकेपछि मृतकको अन्तिम चिनो पाउँछन् आफन्तले । दिउँसो २ ः १६ मा आफ्नी आमाको लास नियालिरहेका छन् नेपालगञ्जका तुलसी (नाम परिवर्तन) । उनीसँगै छन् उनका दुई आफन्त । सँगैका आफन्तले उनलाई सोध्छन्, ‘धेरै दिन भएको थियो र आमालाई अफ्ठ्यारो भएको?’ उनीहरुबीचकै कुराकानीबाट थाहा हुन्छ गत चैत २९ गतेबाट तुलसीकी आमालाई श्वास फेर्नमा केही समस्या भएको थियो । ३० गते स्वयः उनी र उनकी श्रीमती पनि बिरामी भएका थिए । निको होला भन्ने लागेर केही दिन आराम गरे । तर, विसेक नभएपछि आफू एक गते मेडिकल गए । मेडिकलले सामान्य औषधि थियो । ३ गतेसम्म विसेक नभएपछि फेरि औषधि थपिदियो मेडिकलले । तर, निरन्तरको ज्वरोबाट परिवार नै ग्रसित भएपछि उनले आफ्नो र श्रीमतीको पीसीआर चेक गराएछन् । ती आफन्तसँग उनले भने, ‘६ गते चेक गराएपछि भोलिपल्ट कोभिड र टाइफाइट भएको भन्यो ।’ परिवारमा तीन जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो । केही दिन आरामपछि उनी र श्रीमतीको स्वास्थ्यमा सुधार आयो । तर, आमाको स्वास्थ्यमा भने सुधार नभएको उनले बताए । ‘अस्ती शुक्रबार टिकट काटेर काठमाडौं लिएर आए आमालाई’, आफन्तसँगकै भलाकुसारीमा उनी भन्छन् । १७ गते आमालाई काठमाडौं ल्याएर सिभिल अस्पतालमा भर्ना गराए । अस्पतालले उनलाई श्वास प्रश्वासमा अफ्ठ्यारो भएका कारण आईसीयूमा रेफर गर्यो । कोभिड वार्ड भएकाले आफन्त जाने कुरै थिएन । सोमबार दिउँसो फोनमार्फत आमासँग कुरा हुँदा केही सहज भएको बताएकी थिइन् उनलाई । उनले भने, ‘एकपटक पीसीआर गराउँ । अब नेगेटिभ आउँला भन्नु भएको थियो । साँझ पीसीआर गराएको रिपोर्ट नआउँदै यस्तो भयो ।’उनी आमाको अस्तु लिन कुरिरहेका थिए । उनकै नजिक केही आफन्त हात जोडेर मृतकको निम्ति प्राथना गरिरहेका देखिन्थे । यसभन्दा केही परतिर रहेका त्रिलोचन (नाम परिवर्तन) आफ्नो कपाल खौरिरहेका थिए । सम्भवतः एक्लै थिए उनी । त्यहिँ रहेका अन्य व्यक्तिमार्फत आफ्नो कपाल खौरिएपछि उनले पाँच सय रुपैयाँको नोट अघि बढाए । तर, कपाल काटिदिने युवकले त्यो लिन मानेनन् । जसोतसो उनको खल्तीमा त्यो पैसा राखिदिए उनले । आफ्नो हरियो रंगको झोला टिपेर निस्किए उनी । उनको पछि लाग्ने कोही थिएन । निन्याउँरो अनुहार बोकेर बाहिरिएका उनले आफन्तलाई अन्तिम पटक छुन पनि पाएका थिएनन् । जति पीडामा पशुपति क्षेत्रमा कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुका आफन्तहरु छन्, उत्तिकै व्यस्त र तनावमा छन् संक्रमितको लास जलाइरहेका नेपाली सेनाहरु । दिउँसो ३ बजिसकेको थियो । तर, बिहानैदेखि खटिएका उनीहरु एकछिन पनि फुर्सद नपाई निरन्तर काममा थिए । कुल १८ वटा लासको दाह संस्कार भइसकेको थियो । संक्रमितका आफन्तसँग संवाद गर्नु दुःखको घडीमा मृत्युलाई मजाक गराए सरह हुन्छ होला । फ्रन्टलाइनमा खटिरहेका नेपाली सेनासँग भने कुरा गर्नलाईसमेत फुर्सद थिएन् । विद्युतिय शवगृहको उत्तरपट्टिको खाली चौरबाट फलामे बार छिचोल्दै उनीहरुसँग संवाद गर्ने प्रयास गर्दा उनीहरु भनिरहेका थिए, ‘यस्तो लथालिङ्ग छ । यो छाडेर कसरी कुरा गर्न आउनु ?’ पशुपति परिसरमा बिताएका कैयौं दिन र घण्टाभन्दा मंगलबारको यो पाँच घण्टा सबैभन्दा अत्यास लाग्ने समय थियो । मानिसको मृत्यु दुःखद हो, तर त्यो दुःखद क्षणमा बिदाइको एक अंगालो पनि दिन नपाउनु झन् दुःखद हो । यस्ता थुप्रै अंगालोहरु बिनै दैनिक कैयौं बिदा भइरहेका छन् । र बिदा गर्न चाहनेहरु टाढैबाट आँशुले लतपत अनुहार लिएर टोलाइरहेका छन् खरानी बनिरहेकाहरुतर्फ । चाहना हुँदा हुँदै पनि यो समयले ती आँशुले लतपत अनुहारहरुलाई मृतकलाई अंगालेर भक्कानिदै रुने मौका दिएको छैन ।