NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

पेट भर्न फेरि सडकमै आइपुगे मजदुर

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्रै मजदुर दिवसका दिन आफ्नो भाषणमा आश्वासन दिएका थिए, ‘मजदुरको न्यूनतम तलब १५ हजार पुर्याइनेछ ।’ प्रधानमन्त्रीले थप बोल्दै मजदुरमाथि हुने कानुनी विभेदको अन्त्य भएको बताएका थिए । मजदुरमाथि हुने कानुनी विभेद त प्रधानमन्त्रीले भनेजस्तै अन्त्य भयो होला, तर व्यवहारमा अहिले पनि उनीहरुको समस्या ज्यूँका त्यूँ छ । सरकारले कोरोना संक्रमणलाई नियन्त्रण ल्याउन भन्दै निषेधाज्ञा गरेको छैठौं दिन नै कैयौं मजदुरहरु सडकमा आइपुगेका छन् । केही महिनाअघि मात्रै आफ्नो सभामा मान्छे ओसार्ने पार्टी र नेताहरुको आँखामा उनीहरु पर्न सकेका छैनन् । महामारीबीच काम पनि नहुँदा उनीहरु फेरि एकपटक सडकमै आउन बाध्य भएका छन् । मंगलबार अपरान्ह तीन बजे थापाथलिस्थित प्रसुती गृहको चौरमा भेला भएकाहरु एक टकले गेटतर्फ हेरिरहेका थिए । सबैको ध्यान खानाको गाडी कतिबेला आउँछ भन्नेमै केन्द्रित छ । खाना कुरेर बसेको करिब १५ मिनेटसम्म पनि खाना आएन । बरु प्रहरी आयो । माइकिङ गर्दै सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र खान सक्ने अवस्था भएका पनि यहाँ आएर खान नलिन बताउँदासम्म मजदुरहरू केही विचलित देखिन्थे । निर्धारित समयको आधा घण्टा पछि मात्रै आइपुग्यो खाना । प्रतिक्षामा रहेकाहरुमध्ये केही त उठेर ट्याक्सी नजिकै पुगे । बन्दी सहायता नेपाल नामक गैर सरकारी संस्थाको पालो थियो अहिले खाना ल्याउने । बिहान ९ बजेदेखि ११ बजेको समयमा हाम्रो टिम नेपालले खाना खुवाइसकेको थियो । पिपिइसुटमा ट्याक्सीबाट निस्किइन् संस्थाकी संस्थापक इन्दिरा राना । अघिल्लो लकडाउनमा पनि खाना बाँड्न सक्रिय रहेकी राना यो पाली पनि सक्रिय बनेकी छिन् । खाना खानेहरू सबैले उनी आउनेवित्तिकै ‘आमाको खाना आयो’ भन्न थाले । उनले अभियानको नाम नै राखिसकेकी छिन्, ‘आमाको खाना’ । दैनिकजसो काठमाडौं उपत्यका परिसरमा खाना वितरणमा लागेको छ रानाको संस्था । आकाशतिर हेर्दै पानी पर्नेजस्तो संकेत देखेपछि टोलीले खाना बाँड्न थाले । सबैलाई आफ्नो ठाउँमा मर्यादित भएर बस्न भन्दै उनीहरूले खाना वितरण भयो । सबैले ढुक्कले प्याकिङ खाना खाए । यतिबेला सरकारले निषेधाज्ञा जारी गरेसँगै दैनिक ज्याला मजदुरी गर्नेहरूको काम बन्द भएको छ । दैनिक ज्याला गरेर खाने उनीहरूको काम बन्द भएसँगै कोठामा चुल्हो बल्न छोडेको पनि केही दिन बितिसक्यो । कोठामा खाना बन्न छोडेसँगै त्यहीं आएर खाना खान बाध्य छन् उनीहरू । लस्करै बसेको त्यही भीडमा घडी हेरेर खानाको पर्खाइमा थिए श्याम बुढाथोकी । उमेरले ६६ लागेका उनी सोमबारदेखि कीर्तिपुरबाट १ घण्टाको पैदल यात्रा तय गरेर बिहान ११ बजे नै थापाथली पुग्छन् । खानाकै लागि कीर्तिपुरको डेराबाट त्यहाँसम्म हिँडेर आउन १ घण्टा लाग्ने उनले सुनाए । बिहानको खाना खाएपछि उनी त्यहीँ पुलतिर टहलिन्छन् । फेरि ३ बजे अर्को टोलीले खाना बाँड्छ । ‘फेरि कति ओहोर दोहोर गर्नु ?,’ उनले भने, ‘बरु यतै वरिपरि घुमेर बस्छु । बेलुकी खाना खान्छु अनि डेरा फर्किन्छु ।’ दोलाखा घर भएका उनी नुवाकोट खानेपानी आयोजनामा ज्याला गर्दै आएका थिए । पैसा लिनका लागि काठमाडौं आएको ११ दिनमात्रै भएको थियो । तर, उनलाई पैसा दिने मान्छेलाई समयमा पैसा हात परेन । जुन दिन पैसा हात प¥यो काठमाडौं उपत्यकामा निषेधाज्ञा भएका कारण उनी आउन पाएनन् । बुढाथोकीले न पैसा पाए न त घर जान नै । गत वर्षको लकडाउनमा बरु यस्तो विजोग भोग्नु परेको थिएन । ‘त्यतिबेला खल्तीमा पैसा पनि थियो । जसोतजो गुजारा टरेको थियो,’ उनी भन्छन्, ‘तर, अहिले त न पैसा पाइयो न घर जान । बरु पैसा हात परेको भएपनि घर जान्थें ।’ सरकारले मजदूरका निम्ति आश्वासनको थुप्रो लगाएको छ । तर, वास्तविक मजदुरहरु आश्वासन होइन, काम खोजिरहेका छन् । अधिकांश मजदुरहरूको काठमाडौंमा विजोग भएको छ । निषेधाज्ञाका कारण उनीहरूसँग न काम छ न माम । पारिश्रामिक बढाउने सरकारले उनीहरूलाई तत्काल सहयोग गर्नका लागि कुनै पहल गरेको छैन । पाटन सुन्धारा बस्दै आएका पर्शुराम खवास पनि खाना पाइने आशामा थापाथली पुगेका छन् । दोलाखा घर भएका उनी निर्माण क्षेत्रमा ज्यामी काम गर्छन् । निषेधाज्ञा भएपनि काम चल्छ होला भन्ने आशाले घर गएनन् । तर, काम बन्द भयो । घर जान नपाउनु र काम पनि नभएपछि उनलाई पनि यतिबेला दैनिक छाक टार्न गाह्रो भएको छ । दहचोकका सुनिल गिरि घरबारविहीन छन् । आफ्नै गाउँ जानलाई उनलाई गाह्रो छैन । तर, परिवारबाट टाढिएका उनको जाने ठाउँ नै नभएको सुनाउँछन् । ‘श्रीमती बितिसकिन् । छोराहरू विदेश छन्,’ उनले भने, ‘आफन्त भन्नु मात्रै हो । सबै स्वार्थी हुने रहेछन् । कसैले वास्ता नगर्ने हुँदा एक्लो छु ।’ पुल्चोकमा डेरा गरेर बस्दै आएका ६० वर्षिया गिरि होटलमा काम गर्थे । तर, यतिबेला होटलहरू सबै बन्द छन् । आम्दानीको स्रोत बन्द भएसँगै उनी पनि यतिबेला सडकमा आएका छन् । गएको वर्ष पनि उनको यस्तै हालत भएको थियो । अहिले खाना वितरण गर्ने टोलीले बसपार्कमा खाना बाँड्थ्यो । उनी त्यहीं जान्थे । अहिले एक वर्ष पछि फेरि सडकमै आइपुगेका छन् । ज्याला मजदुरी गरेर काम गर्ने उनीहरू अधिकांशलाई यतिबेला सरकारले आफूहरूकै बिजोग बनाउन लकडाउन गरेको भन्ने बुझाइ छ । काभ्रे घर भएका हाल कुपण्डोलमा डेरा गरेर बस्ने बुद्ध लामा दुःखी हुँदै यस्तै भन्छन्, ‘हामीलाई भोकभोकै मरोस् भनेर सरकारले यस्तो ग¥यो । कि त सरकारले नै हाम्रो उद्धार गर्नुपर्‍यो ।’ केही समयअघिमात्रै शीर्ष दल नेकपा दुई धारमा विभाजित हुँदा काठमाडौंमा जुलुसको राँको लाग्यो । गाउँगाउँबाट गाडी रिजर्भ गरेर मान्छे ओराले । कसले कति लाख कार्यकर्ता झार्ने भन्दै प्रतिस्पर्धा नै चल्यो । यतिबेला घर जान नपाएर काठमाडौंमा यत्तिका मजदुर अलपत्र छन् । जुलुसमा मान्छे ओसार्ने पार्टीका कार्यकर्ताका के गर्दै होलान् ? खाना लिइरहेका बुद्ध लामा भन्छन्, ‘यो नेताहरुले हामीलाई मान्छे गन्ने भए त काम गरेर खान दिइहाल्थ्यो नि । हामीलाई मान्छे गन्दैन ।’ https://www.youtube.com/watch?v=ftLybUxJYBU