NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अमेरिकाको व्यापार घाटा ५.६ प्रतिशतले बढ्यो, चीनसँगको घाटा सबैभन्दा बढी

वासिङ्टन । अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । गत फेब्रुअरीमा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ । आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यातभन्दा आयात निकै बढी भएको छ । राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ । यस वर्षका पहिलो तीन महिना जनवरी, फेब्रुअरी र मार्चमा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ, जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोना महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए । अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो । (रासस/एपी)