NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मात्र तीन डाक्टरका लागि बिन्ती गरिरहेका छन् कोहलपुरका मेयर, भन्छन्- यति भए धेरैको ज्यान जोगिन्थ्यो

नेपालगञ्ज । कोभिड-१९ संक्रमणको केन्द्र बनेको बाँकेको कोहलपुरमा उपचार नपाएरै मानिसहहरुको ज्यान गइरहेको छ । कोहलपुर नगरपालिका प्रमुख (मेयर) लुटबहादुर रावत स्वयं उपचार नपाएरै संक्रमितहरुको ज्यान जाने स्थिति सिर्जना भएको स्विकार गर्छन् । कोभिड रोकथामका लागि नगरपालिकाले गरेका प्रयासहरुबारे नेपालवाचसँग कुरा गर्दै राउतले कोहलपुरको स्वास्थ्य अवस्था भयावह बन्दै गएको बताए । नगरपालिकाभित्र मात्रै प्रत्येक दिन कोभिड संक्रमणबाट दुईदेखि तीन जनाको मृत्यु हुन थालेको र उपचारका लागि अस्पतालमा बेडको अभाव रहेको उनी बताउँछन् । रावतका अनुसार कोभिडबाट कोहलपुर नगरपालिकाभित्र एक महिनामा १८ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ६ सय कटिसकेको छ । उनले ७० बेडको कोभिड अस्थायी अस्पताल बनाउन अन्य संरचना तयार गरे पनि चिकित्सक पाउन नसकेको गुनासो गरे । ‘मानिसहरुलाई कसरी जोगाउन सकिन्छ भनेर अनेक उपायको खोजी गरिरहेका छौं,’ उनी भन्छन्, ‘मुख्य समस्या चिकित्सकको भयो, चिकित्सक पाइयो भने ७० बेडको अस्पताल तत्काल सञ्चालन गर्न सक्छौं ।’ हाल नगरपालिकाको ५ बेड क्षमताको अस्पतालमा २० वटा बेड राखेर बिरामीहरुको उपचार गरिरहेको छ । ‘एक चिकित्सक र दुई जना नर्सले २४ सै घण्टा ड्युटी गरेर २० जनाको उपचार गरिरहनु भएको छ,’ रावतले भने । चिकित्सक अभावले संक्रमितहरुको समयमा उपचार गर्न नसकेको उनी बताउँछन् । गम्भीर प्रकारका बिरामीलाई भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पठाउने गरेको उनले बताए । तर त्यहाँ पनि बेड पाउन नसकेको उनको भनाइ छ । त्यस भेगका ठूला भेरी र नेपालगञ्ज मेडिकल कलेजमासमेत बेड नपाएपछि नगरपालिकाले कृषि विकास बैंकको तालिम केन्द्रमा ५० बेड राखेर आइसोलेसन वार्ड बनाएको छ । नगरपालिका त्यसलाई अस्पताल बनाउन चाहन्छ । त्यहाँ बिरामी हेर्न फेरि पनि स्वास्थ्यकर्मीको अभाव छ । महामारीमा नगरवासीको जीवनरक्षाका लागि उपचार गर्न नगरपालिकाले तुरुन्तै चिकित्सक नियुक्त गर्न खोजेको छ तर पाउन सकेको छैन । तत्काल चिकित्सक मात्र पाउन सकेपनि धेरैको उद्धार गर्न सकिने आत्मविश्वास आफूमा रहेको उनी बताउँछन् । ‘मैले ५०/५० बेडको दुई वटा अस्थायी कोभिड अस्पताल बनाउन खोजिरहेको छु । एउटा कृषि विकास बैंकको तालिम केन्द्रमा बेड बनिसक्यो । अर्को कुनै स्कुललाई अस्पताल बनाउन सकिन्छ । तर हामीसँग चिकित्सककै अभाव भयो । चिकित्सक पाएको खण्डमा दुई वटा अस्पताल सञ्चालन गरेर धेरैको ज्यान जोगाउन सकिन्थ्यो ।’ त्यहाँको स्वास्थ्य अवस्था थेग्नै नसक्ने चरणमा पुग्न लागेकोमा रावतको चिन्ता छ । ‘हामीले चिकित्सक पाउन सकेनौं,’ उनी भन्छन्, ‘सरकारले तीन जनामात्र चिकित्सक दियो भने पनि हामी धेरैको ज्यान बचाउन सक्थ्यौँ ।’ संक्रमण थप बढ्दा कसरी थेग्ने भन्ने भइसक्यो : नगर प्रमुख रावत घरमै आइसोलेसनमा बसेका एक जना कोभिड बिरामीको अवस्था सिकिस्त भयो । उनलाई नगरपालिकाको अस्पतालले उपचार गर्न नसक्ने स्थिति थिएन । मैले कोहलपुर अस्पताललाई एक जना बिरामी राख्दिनुस्, अवस्था गम्भीर छ भनेर आग्रह गरें । तर अस्पतालले बेड छैन भन्यो । त्यसपछि भेरी अस्पतालमा फोन गरें, त्यहाँ पनि बेड नभएको जानकारी आयो । म आफैं बिरामी लिएर भेरी अस्पताल पुगें । समयमा उपचार पाए ज्यान बाँच्थ्योकि भनेर । म त्यहाँको नगर प्रमुख, तर बेड छैन भनेर भर्ना लिन मानेनन् । मैले हात जोडेर बिन्ती गरें । त्यसपछि अस्पतालले कोही डिस्चार्ज भए वा उपचार सम्भव नभएर बेड खाली भयो भने भर्ना गरौंला भनेर अस्पताल बाहिर बस्न दिइयो । गम्भीर प्रकृतिको बिरामीलाई बचाउनु पर्‌यो भनेर अस्पताल पुर्‌याउँदा र बिन्ती गर्दा पनि लाइनमा बस्नुपर्ने स्थिति छ । केहीबेरमा उपचार गर्न सुरु गरियो । तर उपचार थालेको एक घण्टामा बिरामीको मृत्यु भयो । नेपालगञ्ज मेडिकल कलेजको अवस्था पनि यस्तै छ । कुनै पनि बेड खाली छैन । बिरामीहरुले समयमा उपचार पाउन सकिरहेका छैनन् ।चिकित्सकहरु २४ सै घण्टा ड्युटीमा छन् । कुदिरहेका छन् । तर ५ सय बेड क्षमताका ती अस्पतालले नेपालगञ्जलाई धान्न सकिरहेको छैनन् । अक्सिजन नपाएर मानिसहरुको ज्यान गइरहेको छ । अहिले त यस्तो स्थिति छ, संक्रमण थप बढ्दा कसरी थेग्ने भन्ने भइसक्यो । तत्काल चिकित्सक मात्र पाउन सकेपनि धेरैको उद्धार गर्न सकिने आत्मविश्वास मलाई छ ।