NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सिराहा कारागारमा कैदी भेटघाट बन्द

जनकपुरधाम । जिल्ला कारागार सिरहामा रहेका कैदी बन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना संक्रमण फैलन सक्ने भएकाले भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । भेटघाटका क्रममा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने जोखिम रहेकोले भेटघाट बन्द गरिएको कार्यालय प्रमुख बबिता महतोले बताइन् । दोस्रो चरणको कोरोना भाइरस पहिलेकोभन्दा जटिल भएकाले भेटघाटमा आउने आफन्तलाई गेटबाट फर्काउने गरेको प्रमुख महतोले बताइन् । विभिन्न मुद्दामा पक्राउ परी जिल्ला अदालतबाट सजाय वा पूर्पक्षमा ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षण रिपोर्टमा संक्रमण नभएको खुलेपछि मात्र राख्ने गरिएको प्रमुख महतोको भनाइ छ । जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउने बित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था पनि गरिएको छ । कारागारभित्र पेरिमिटर (घुमफिर गर्ने ठाउँमा) बनाइएको क्वारेन्टाइन १५ बेड र आइसालेन १५ बेड क्षमताको रहेको छ । गत वर्ष पहिलो चरणमा जिल्ला कारागार सिरहाका ५ सय ७ जना कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमित भएपछि भेटघाट बन्द गरिएको भने पछिल्लो र २०७७ साल पुस २० बाट खुला गरिएको थियो । सिरहा कारागारमा अहिले ५ सय ८१ जना कैदीबन्दी रहेका छन् । त्यसमा पुरुष ५ सय ५५, महिला २३ र ३ जना आश्रित बालबालिका रहेका छन् । कारागारमा रहेका कैदीबन्दी मध्ये ४ सय ८१ ले जनाले कोरोनाविरुद्धको दोस्रो चरणको खोप र ४१ जनाले पहिलो चरणको खोप लगाइसकेको प्रमुख महतोले बताइन् । यस कार्यालयमा १५ महिला र १३५ पुरुषको क्षमता रहे पनि चार गुणा वढी कैदीबन्दी राखिएको छ ।