NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सरकारले कोरोनाबारे चेतनामूलक सामग्री र कार्यक्रमको योजना बनाउन सचिवालय गठन गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन/प्रशारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेका छन् । मन्त्रालयद्वारा आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतंकित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे । ‘यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस्,’ गुरुङले भने । मन्त्री गुरुङले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिएका छन् । उनका अनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिएका छन् । कोभिड–१९ न्यूनीकरणबारे नीति बनाउन सञ्चारमाध्यमसँग पनि छलफल गरिने उनको भनाइ छ । मन्त्री गुरुङले वर्तमान समयमा आमसञ्चारमाध्यमलाई कोभिडसँग सम्बन्धित समाचारमा केन्द्रित हुन अनुरोध पनि गरे । ‘सरकारले नगरेको कामको प्रचार भयो’ सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आमसञ्चारमाध्यमले सरकारले गरेका सकारात्मक कार्यभन्दा पनि हुँदै नभएका भ्रामक र असत्य समाचार सम्प्रेषण गरिरहेको बताए । सरकारले नगरेका कामको भ्रम फैलाएर समाचार नबनाउन उनले सम्बन्धित सबैमा आग्रह गरे । फाइल तस्बिर