NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

गण्डकी प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन आलोचित

काठमाडौं । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदीय मर्यादा बिर्सिएर गैरजिम्मेवार अभिव्यत्ति दिएको विपक्षी दलका सांसद तथा कार्यकर्ताले आरोप लगाएका छन् । प्रदेश प्रमुख पौडेलले संवैधानिक मर्यादा नाघेर अभिव्यक्ति दिएको भन्दै नवनियुक्त पौडेलको आलोचना गरेका छन् । बुधबार पदभार ग्रहण गरेलगत्तै प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको औचित्य सकिएको र सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने समय आएको बताएपछि विपक्षी दलका सांसद तथा कार्यकताले उनको उक्त अभिव्यक्तिको आलोचना गरेका हुन् । उनले तल्लोस्तरका कार्यकर्तालेसमेत व्यक्त गर्न नसुहाउने खालको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलका सांसद तथा कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नवनियुक्त प्रदेश प्रमुख पौडेलले सभामुख र संसदीय कार्यसूचीमाथि गलत अभिव्यक्ति दिएको बताए । उनले प्रदेश प्रमुखजस्तो गरिमामय पदधारण गरेको व्यक्तिले सामान्य कार्यकर्ताले समेत भन्न नसुहाउने अभिव्यक्ति दिएको भन्दै पौडेलको आलोचना गरे । ‘प्रदेश प्रमुखजस्तो सम्मानित र गरिमामय पदमा नियुक्त भएको व्यक्तिले यस्तो तल्लोस्तरमा झरेर अभिव्यक्ति दिनुभयो, यो सुहाउने कुरा होइन,’ उनले भने । नेता पोखरेलले संविधानको धज्जी उडाउँदै आफ्नो क्षेत्राधिकारबाहिर गएर प्रदेश प्रमुखले अभिव्यक्ति दिएको आरोपसमेत लगाए । राष्ट्रिय जनमोर्चा, गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले नवनियुक्त गण्डकी प्रदेश प्रमुखले पार्टी कार्यकर्ताको जस्तो अभिव्यक्ति र व्यवहार देखाएको आरोप लगाए । उनले प्रदेश प्रमुख आलंकारिक पद भएकाले पदीय भूमिकालाई बिर्सिएर एउटा पार्टीको कार्यकर्ताजस्तो बनेर संविधानविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरे । गण्डकी प्रदेशमा एमालेइतर दलका कार्यकर्ताले समेत पौडेलको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत आलोचनात्मक टिप्पणी व्यक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । बुधबार पदभार ग्रहण गरेकै दिन प्रदेश प्रमुख पौडेल विवादास्पद अभिव्यक्तिका कारण आलोचित बनेकी हुन् ।