NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमणदर उच्च

नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ । गएको २४ घण्टामा आठ हजार ६५९ जना सङ्क्रमित भएका छन् भने ५८ जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार जानकारी दिएको छ । नेपालमा एकै दिन आठ हजार ६५९ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यो एकै दिनमा सङ्क्रमित हुने सबैभन्दा बढी हो । एक दिनअघि मङ्गलबार सात हजार ६६० जनामा कोरोना सङ्क्रमण भएको थियो । मन्त्रालयले एक महिनाअघि प्रक्षेपण गरेको दैनिक ११ हजारसम्म सङ्क्रमितको सङ्ख्या हुने अनुमान थियो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार आठ हजार ६०५ जनामा कोरोना पुष्टि भएको जानकारी गराए। यस्तै ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। थप सङ्क्रमितसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार ३५२ पुगेको छ। डा गौतमका अनुसार क्वारेन्टाइनमा ३१८ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५८ सङ्क्रमितको मृत्यु भएको हो। यो सङ्ख्या हालसम्म नेपालमा कोरोनाले मृत्यु हुने सङ्ख्याभन्दा धेरै हो। अघिल्लो दिन मङ्गलबार ५५ जना सङ्क्रमितको मृत्यु भएको थियो। योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ४७५ पुगेको छ। यस्तै एक हजार ९९३ जना सङ्क्रमित निको भएका छन्। हाल नेपालमा निको हुने दर ८० दशमलव ६ प्रतिशतमा झरेको छ। गाेरखापत्रमा खबर छ।