NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एक हजार लगानी गरेका लगानीकर्तालाई महिला लघुवित्तले बनायो ५० हजारको मालिक

काठमाडौं । गत आवको माग ३० देखि फागुन ५ सम्म सर्वसाधारणलाई सेयर जारी गरेको माहिला लघुवित्तले सेयरधनीहरुलाई मालामाल बनाएको छ । चैत ३ देखि दोस्रो बजारमा ४३८ रुपैयाँमा कारोबार खुलेको लघुवित्तको सेयर मूल्य २ महिना नपुग्दै ५ हजार ३० रुपैयाँ पुगेको छ। सर्वसाधारणहरुले एक हजार रुपैयाँबाट लगानी सुरु गरेको कम्पनी मूल्य निरन्तर सर्किट लाग्दै बढेपछि आज ५० हजार रुपैयाँको मालिक बन्न पुगेका छन् । कम्पनीले जारी गरेको ४ लाख कित्तामा पनि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता मात्र सर्वसाधारणलाई वितरण गरेको थियो । कम्पनीको वित्तीय अवस्था राम्रो भएको र सेयर संख्या थोरै भएकाले पनि सेयर मूल्य बढेको हो । नेप्सेले सूचीकृत गराएपछि लघुवित्तलाई दोस्रो बजारमा कारोबार गर्नको लागि ३१३ रुपैयाँ १६ पैसादेखि ९३९ रुपैयाँ ४८ पैसासम्मको मूल्य सीमा दिएको थियो । सोपछि कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा ४३८ रुपैयाँमा १० कित्ता सेयर खरिद-बिक्री भएको थियो। बिहीबार कारोबार खुलेको केही समयमा नै लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ४५७ रूपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजारभन्दा बढी पुग्दा पनि अझै माग भने रोकिएको छैन । यो सामाचार तयार पार्दासम्म कम्पनीको करिब डेढ लाख कित्ता सेयर अझै खरिदको लागि माग रहेको छ । यस अवधिसम्म कम्पनीको जम्मा ७ हजार ६१९ कित्ता सेयर खरिद-बिक्री भएको छ । यस्तो छ कम्पनीको वित्तीय विवरणचालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।गतवर्षको यसै अवधिको तुलनामा कम्पनीले ११२.६६ प्रतिशत बढी खुद नाफा गरेको हो । गतवर्ष यस अवधिसम्म कम्पनीले ३ करोड २ लाख २५ हजार रुपैयाँ नाफा गरेको थियो । यसवर्ष सञ्चालन नाफा भने करिब १५० प्रतिशत बढी भएको छ । गतवर्ष ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यसवर्ष ७ करोड ९२ लाख ४६ हजार रुपैयाँ नाफा गरेको हो । हाल कम्पनीको चुक्तापुँजी १० करोड छ । जगेडा कोष रकम गतवर्षभन्दा ६६.६७ प्रतिशत बढी अर्थात् १९ करोड १८ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यसवर्ष कम्पनीले गतवर्षभन्दा १४७ प्रतिशत बढी अर्थात् २ अर्ब १९ करोड ८५ लाख ५१ हजार रुपैयाँ कर्जा सापटी लिएको छ । गतवर्षभन्दा ३२.४९ प्रतिशतभन्दा बढी अर्थात् ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब १८ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो गतवर्षभन्दा ८८.७८ प्रतिशत बढी हो । गतवर्षको यही अवधिसम्म २.५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यसवर्ष २.२५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ८५.६६ प्रतिशत अर्थात् २९१.८४ रुपैयाँ छ ।