NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमालेको खनाल-नेपाल पक्षका सांसदले राजीनामा दिए देउवा यसरी बन्न सक्छन् प्रधानमन्त्री

काठमाडौं । २७ वैशाखमा बस्ने संसद्‌को विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा गरेपछि प्रतिपक्षमा रहेका दलहरुले छुट्टै सत्ता समीकरणको प्रयास सुरु गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भन्दै आफूले नै बहुमत जुटाउने गरी दलबीच वार्ता र संवाद अघि बढाएको छ । अर्कोतिर, एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सांसदले २७ वैशाखअघि पदबाट सामूहिक राजीनामा दिने तयारी गरेका छन् । उनीहरुको यस्तो तयारीपछि पार्टीभित्रको विवाद मिलाउनुको सट्टा प्रधानमन्त्री ओलीले विश्वासको मत दिन कांग्रेससँग आग्रह गरेका छन् । बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर ओलीले गरेको यस्तो आग्रहलाई कांग्रेसले ठाडै अस्विकार गरेको छ । प्रधानमन्त्रीले आफ्नो दलभित्रको विवाद मिलाउन छोडेर कांग्रेसको दैलो चहार्नुलाई खनाल-नेपाल पक्षप्रति अझै पनि चरम अविश्वास लिएको देखिन्छ । यसरी खनाल-नेपाल पक्षका ३० भन्दा बढी सांसदले राजीनामा दिँदा प्रधानमन्त्रीले विश्वासको मत पाउन कठिन हुने देखिएको छ । प्रतिनिधिसभा २७५ सदस्यीय छ । तर कांग्रेस र जसपाका २/२ सांसद निलम्बित छन् । एमाले प्रवेश गरेका ४ सांसदलाई माओवादी केन्द्रले कारबाही गरेपछि थप ४ पद रिक्त छ । ८ सांसद संख्या कटौती भएपछि हाल संसद्‌मा एमालेका १२१, कांग्रेसका ६१, माओवादीका ४९, जसपाका ३२, जनमोर्चा, राप्रपा र नेमकिपाका १/१ गरी २६७ मात्रै सांसद छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २६७ को बहुमत अर्थात् १३४ सांसद संख्या पुर्‌याउनु पर्छ । यस्तोमा एमाले एक ठाउँमा उभिए उसको १२१ मा थप १३ मत मात्रै थप भए ओलीलाई विश्वासको मत पुग्छ । तर ओलीलाई विश्वासको मत दिने भरोसा गरिएको दल जसपा हो । तर जसपा आफैं प्रष्ट दुई धारमा विभाजित छ । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद विश्वासको मत पुग्ने गरी मत दिने तयारीमा छन् । तर उनीहरुले मत दिनुपूर्व एमालेकै खनाल-नेपाल समूहलाई ओलीले मनाउनुपर्ने हुन्छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकपछि अर्को गर्दै पेलेपछि यस पटक की ओलीलाई गलाउने की सांसदबाट राजीनामा दिएर उनलाई अप्ठ्यारो पार्ने नीति उनीहरुको छ । प्रतिनिधिसभामा खनाल-नेपाल पक्षका सांसद ३१ जना छन् । जसमध्ये प्रत्यक्ष चुनाव जितेका २१ र समानुपातिकतर्फका १० जना छन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कारबाही गर्ने प्रयासस्वरुप उनीहरुलाई स्पष्टीकरण पनि सोधिसकेका छन् । ओलीले एकलौटी पार्टी चलाएको र आफूहरुलाई किनारामा पुर्‌याएको भन्दै उनीसँग नझुक्ने तर समानान्तर गतिविधि अघि बढाउने अभ्यासमा खनाल-नेपाल समूह छ । यसैले पनि २७ वैशाखअघि नै ओलीसँग वारपारको लडाईंमा खनाल-नेपाल पक्ष उत्रिँदै छ । ओलीले खनाल-नेपाल पक्षका समानुपातिक सांसदलाई कारबाही गरे त्यसमा आफ्नो पक्षका नेताहरुलाई समानुपातिक सांसद बनाउन पाउँछन् । तर प्रत्यक्षका सांसदलाई कारबाही गरे सांसदको संख्या नै रिक्त हुन्छ । यस्तोमा राजीनामा दिएका सांसदको संख्याका आधारमा बहुमत पुर्‌याउन उनैलाई कठिन देखिन्छ । केन्द्र मात्रै होइन प्रदेशमा समेत सामूहिक राजीनामा दिएर ओलीसँग बदला लिने र उनलाई अप्ठ्यारोमा पार्ने नीति खनाल-नेपाल पक्षको छ । खनाल-नेपाल पक्षका सांसदको अंकगणितएमालेमा खनाल-नेपाल पक्षका २१ प्रत्यक्ष सांसदले राजीनामा दिए २४५ सांसदको बहुमत जुटाउनुपर्ने हुन्छ । २४५ को बहुमत जुटाउन १२३ सांसदको आवश्यकता पर्छ । यस्तोमा एमालेमा १२१ बाट २१ घट्दा १०० सांसद हुन्छन् । ओलीलाई विश्वासको मत लिन पूरै जसपाको साथ भए सहज हुन्छ । अन्यथा जसपा फुटेर आधा भए उनलाई विश्वासको मत लिने गरी १२३ सिटको बहुमत संख्या पुग्दैन । जसपाको आधा-आधा हिस्सा ओली र कांग्रेस–माओवादीतिरजसपामा पूर्वराजपा (महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष) का १५ सांसद छन् । पूर्वसमाजवादी पार्टी (बाबुराम भट्टराई र उपेन्द्र यादव) पक्षका १७ सांसद छन् । प्रधानमन्त्रीको संसद् विघटनको कदम प्रतिगामी रहेको भन्दै पूरै जसपा कुनै समय आन्दोलनमा थियो । तर पछि ठाकुर र महतोहरु ओलीनिकट हुन पुगे । तर भट्टराई र यादव कुनै हालतमा ओलीलाई मत नदिने अवस्थामा पुगिसकेका छन् । ३२ मध्ये उनीहरुले १८ सांसद पुर्‌याएको दाबी गरेका छन् । यसरी जसपा आधा-आधा बाँडिदा पनि ओलीले विश्वासको मत पाउन कठिन हुने देखिएको छ । कांग्रेस–माओवादीलाई बहुमत पुर्‌याउन सहजओलीले विश्वासको मत लिन नसक्दा अरु दलले बहुमतका लागि दाबी गर्न सक्छन् । खनाल-नेपाल पक्षका प्रत्यक्ष सांसदले मात्रै राजीनामा दिँदा अर्को पक्षले १२३ पुर्‌याउने ग्यारेन्टीसहित राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनको लागि निवेदन दिन सक्छन् । खनाल-नेपाल पक्षका सांसदले राजीनामा दिएको खण्डमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९ र जसपा असन्तुष्ट पक्षको आधामात्रै अर्थात् १६ सिट भए पनि बहुमत पुग्छ । कांग्रेसको ६१, माओवादीको ४९ मत जोड्दा ११० सिट हुन्छ । यस्तोमा बहुमत पुर्‌याउन थप १३ सिटको आवश्यकता पर्छ । जसपाको भट्टराई-यादव पक्षका आधा सांसदले मात्रै भोट हाले ओली विरोधी गठबन्धनमा बहुमत पुग्ने अवस्था रहन्छ । कानुन व्यवसायी गोपाल कृष्ण घिमिरे प्रधानमन्त्री अहिले अल्पमतमा परिसकेको भन्दै अरु पक्षले बहुमत पुर्‌याउने ग्यारेन्टी गरे नयाँ बहुमतको सरकार गठनको विकल्प रहेको बताउँछन् । ‘प्रधानमन्त्रीलाई गरेकाे समर्थन माओवादीले फिर्ता लिइसक्यो । प्रमुख प्रतिपक्षी दलले विश्वासको मत दिन्न भनिसक्यो । यस्तोमा प्रधानमन्त्री प्रष्ट अल्पमतमा परिसक्नुभयो । यस्तो बेला राजनीतिक नैतिककताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो,’ घिमिरेले नेपालवाचसँग भने, ‘अल्पमतमा परिसकेपछि राजीनामा दिन तयार नभई विश्वासको मतको कुरा प्रधानमन्त्रीले गर्नुभएको छ । तर उहाँले विश्वासको मत गुमाएपछि पनि बहुमत पुर्‌याउने दलहरुले सरकार गठन गर्न सक्ने बाटो खुल्ला छ ।’ संविधानले सबै कुरा नभन्ने भन्दै घिमिरे फेरि पनि आफूले बहुमत पुर्‌याउन नसक्दा अरु दलले बहुमत पुर्‌याउन सक्ने तयारीलाई रोक्ने खेल भए दुर्भाग्य हुने बताउँछन् । ‘प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्दा अर्को पक्षलाई बहुमत पुर्‌याउन मौका दिने पद्धति संसदीय व्यवस्थामा हुन्छ । तर प्रधानमन्त्री आफूले विश्वासको मत लिन नसक्दा ठूलो दलको हैसियतमा निर्वाचन घोषणा गरेर जाने मनस्थितिमा देखिनुभएको छ,’ घिमिरे भन्छन्, ‘कांग्रेस, माओवादी र जसपा मिलेर हामी बहुमत पुर्‌याउँछौं भनेर सांसदको हस्ताक्षर तयार गरे राष्ट्रपतिले बहुमतको सरकारको लागि समय दिनुपर्छ ।’ राष्ट्रपति सबै दलको भन्दा एउटा दललाई मिलाउन लागे परिस्थिति बिग्रने उनी बताउँछन् । ‘राजनीतिक अराजकता निम्त्याउन खोज्ने हो भने एउटा कुरा हो, होइन भने स्वभाविक राजनीतिक प्रक्रियालाई राष्ट्रपतिले पनि ख्याल गर्नुपर्छ,’ घिमिरे भन्छन्, ‘यस्तोमा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके जसले संसद्‌मा १२३ सिट पुर्‌याउने पुष्टि गर्न सक्छ उसैले सरकार गठन गर्छ ।’ ओलीले विश्वासको मत लिन नसके दोस्रो ठूलो दलका नेता कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ । खनाल-नेपाल पक्षका प्रत्यक्ष सांसदले राजीनामा दिने र समानुपातिकका सांसदलाई कारबाही गरेर ओलीले आफ्नो तर्फबाट सांसद थपे पनि बहुमत पुर्‌याउन कांग्रेस र माओवादीलाई सहज हुने देखिएको हो । यी दुई दलको ११० सिटमा थप सिट जसपाको भट्टराई र यादव समूहबाट तान्न सके सहजै बहुमत पुग्ने देखिन्छ । यस्तोमा कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री बन्न सक्नेछन् । तर राष्ट्रपतिले अरु पक्षको बहुमतको दाबीलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीलाई बल पुग्ने गरी भूमिका खेलिदिए फेरि देशमा राजनीतिक अन्योल आउनेछ ।