NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संघीय संसद्का चार सांसदलाई कोरोना पुष्टि

काठमाडौं । संघीय संसद्का चार जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट आज आएको हो । रिपोर्टमा चार जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयमा कार्यरत सबै कर्मचारीहरुको रिपोर्ट नेगेटिभ आएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बुधबार परीक्षण गरिएको रिपोर्टमा संसद्का दुई जना कर्मचारीको पनि रिपोर्ट पोजेटिभ आएको उनले बताए । यसअघि नै नेकपा एमालेका ६ जना सांसद कोरोना भाइरसबाट संक्रमित छन् । कोरोना संक्रमित हुनेमा तीन जना जनता समाजवादी पार्टीका सांसद रहेका छन् भने एक जना कांग्रेसका हुन् । संघीय संसद् स्रोतका अनुसार जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल र रामबाबु यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कांग्रेसकी पावर्ती डिसी चौधरीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बैशाख २७ गते बोलाइएको विशेष अधिवेशनका लागि संघीय संसद्ले सांसद, कर्मचारी र मर्यादापालकहरुको कोरोना परीक्षण गरिरहेको छ । बाँकी सांसद र कर्मचारीहरुको आज पीसीआर परीक्षण गरिने संघीय संसद् सचिवालयले जनाएको छ । बुधबार १२८ जना सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ४८१ जना गरी जम्मा ६०९ जनाको स्वाब संकलन गरिएको थियो ।