NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कमिसनको लागि जनताको स्वास्थ्यमा खेलबाड गर्ने सरकार दण्डित हुनु पर्छ : महर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना महामारीबाट सयौं जनताले ज्यान गुमाइरहेका बेला स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि भ्रष्टाचारमा संलग्न ओली सरकार दण्डित हुनुपर्ने बताएका छन् । नागरिक स्वास्थ्य संकटले बिचल्लीमा परेका छन् तर सरकार कमिसनको चक्करमा खोप र औषधिको कृत्रिम अभाव गराएर जनता मार्ने जनघाति काममा लागेको महरको आरोप छ । ‘संकटमा सहयोगी हातहरु’ नामक अभियानले आयोजना गरेको ‘कहाँ चुक्यो सरकार’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले वर्तमान सरकारलाई भ्रष्टाचार शिरोमणि र विवेकहीनको संज्ञा दिए । यो ३ वर्षे कार्यकालमा सरकारले भ्रष्टाचार, आर्थिक अनियमितताका दर्जनौं काण्डहरु घटाएको उनले बताए । ‘खोप काण्ड, ओम्नी काण्ड, फास्ट ट्र्याक काण्ड, सेक्युरिटी प्रेस काण्ड, वाइडबडी काण्ड, रेल्वे काण्डलगायतका दर्जनौं काण्डमा अर्बौंको अनियमितता गरेर वर्तमान सरकार भ्रष्टाचार शिरोमणि र विवेकहीन सावित भयो,’ नेता महरले भने, ‘जनता स्वास्थ्य संकटले विचल्लीमा परेका छन् तर कम्युनिष्ट नामधारी सरकार भ्याक्सिनलगायत स्वास्थ्य सामग्री उपलब्ध नगराएर कमिसन खाने चक्करमा जनता मार्ने जनघाति काममा उद्धत छ ।’ लामो समयदेखि महामारी संक्रमणको भय र त्रासले आतंकित भएर जीवनरक्षाका लागि जनताले गरेको पुकार सुन्नुको सट्टा स्वास्थ्य सामग्री र भ्याक्सिन खरिद गर्दा भ्रष्टाचारजन्य कार्यमा स्वयम् सरकार संलग्न देखिनु अमानवीय र असंवेदनशीलताको पराकाष्ठा भएको उनले टिप्पणी गरे । सरकारका गलत कार्यहरु नियन्त्रण गर्ने सबै अंगहरु सरकारले आफ्नो सिकन्जामा राखेको उनको भनाइ थियो । सबै शक्ति नियन्त्रणमा राखेर सर्वसत्तावादी बनेको सरकारलाई जनता स्वयम्‌का तर्फबाट जनताको अदालतमा उभ्याएर कारबाही गरे मात्र देशमा सुशासन र अमनचयन हुने उनले बताए । भ्याक्सिन र औषधिको अभावले दैनिक दर्जनौं जनताले ज्यान गुमाउनु परेको छ तर सरकारले भने भ्याक्सिन खरिदमा ३२ करोड रुपैयाँ बढी कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड गरेको कार्यक्रममा सहभागीहरुको भनाइ थियो ।