NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भारतमा एकै दिन सवा ४ लाख संक्रमित थपिए, झन्डै ४ हजारको मृत्यु

नयाँदिल्ली । कोरोना संक्रमणका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै ४ हजार जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । थपिने संक्रमितको संख्या पनि हालसम्मै उच्च रेकर्ड भएको छ । पछिल्लो २४ घण्टामा भारतमा चार लाख १२ हजार २६२ जना संक्रमित थपिएका हुन् । एकै दिनमा यति धेरै संक्रमित भएको यो विश्वमै पहिलो पटक हो । योसँगै हालसम्म संक्रमित हुनेको संख्या दुई करोड १० लाख ७७ हजार ४१० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना संक्रमणमुक्त भएका छन् । यहाँ हालसम्म एक करोड ७२ लाख ८० हजार ८४४ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ लाख ६६ हजार ३९८ छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार बुधबारसम्म २९ करोड ६७ लाख ७५ हजार २०९ नमुनाको परीक्षण गरिएको छ । जसमध्ये बुधबार मात्रै १९ लाख २३ हजार १३१ नमुनाको परीक्षण भएको छ । भारतभर अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि दिन-प्रतिदिन बढ्दो छ ।