NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रहरी लगाएर उद्योगमा होल्ड भएका सिलिण्डर उठाइँदै

काठमाडौं । सरकारले औद्योगिक प्रयोजनमा लगेर फिर्ता नभएको अक्सिजन सिलिण्डर उठाउन प्रहरी परिचालन गरिने भएको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सचिवबीचको छलफलपछि प्रहरी परिचालन गरेर औद्योगिक प्रयोजनमा रहेको अक्सिजन सिलिण्डर उठाउने निर्णय भएको हो । उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललेका अनुसार बारम्बार अपिल गर्दा पनि उद्योगले सिलिण्डर फिर्ता नगरेपछि प्रहरी परिचालन गरिएको र केही उद्योगबाट प्रहरीले सिलिण्डर फिर्ता ल्याउन सुरु गरिसकेको छ । ‘औद्योगिक प्रयोजनका लागि धेरै मात्रामा अक्सिजन बिक्री गर्ने हाम्रो ग्यास उद्योगको मात्रै झण्डै ४ हजार सिलिण्डर होल्ड भएको प्रारम्भिक जानकारी विभागमा प्राप्त भएको छ,’ उनले भने । केही दिनअघि मात्रै विभागले उक्त अक्सिजन उद्योगबाट ४० वटा सिलिण्डर प्रहरीले फिर्ता ल्याएको थियो । भुसालका अनुसार अक्सिजन उद्योगहरुको समस्या बुझ्न, सिलिण्डर फिर्ताबारे सहजीकरण गर्न उद्योग र गृहसचिव अनुगमनमा निस्किएका छन् । सरकारी तथ्यांक अनुसार निजी क्षेत्रका उद्योगहरुसँग भएको हालसम्म करिब एक लाख ८ हजार १६४ वटा अक्सिजन सिलिण्डर छन् । जसमा ६९ हजार ३५० वटा ठूला र ३८ हजार ८१४ वटा साना सिलिण्डर छन् । काठमाडौं उपत्यकामा मात्रै ठूलो सिलिण्डर ४७ हजार र सानो २९ हजार ९१० वटा रहेृको तथ्यांकमा उल्लेख छ ।