NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संघीय संसद्का १४ सांसद संक्रमित, एमालेका मात्र आठ सांसदलाई कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रतिनिधिसभाका सांसदहरुमा कोरोना संक्रमणको घानमा पर्न थालेका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका केही सांसदहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी सत्तारुढ नेकपा एमालेकै सांसदहरु छन् । बिहीबार दिउँसोसम्म सत्तारुढ नेकपा एमालेका मात्र आठ जना सांसदहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पूर्व प्रधानमन्त्री एवं सांसद झलनाथ खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्यनन मन्त्री भानुभक्त ढकाल, मन्त्री जुली महतो, पूर्व मन्त्री रघुवीर महासेठ, शान्ति पाख्रिन, विमला बि.क, किसान श्रेष्ठ, सरिता न्यौपानेलाई कोरोना पोजेटिभ भएको छ । कोरोना पोजेटिभ भएकामध्ये खनाल मात्र ओली इतर समूहमा छन् । जुली महतो र रघुवीर महासेठ पतीपत्नी हुन् । संसद्को विशेष अधिवेशनको मिति नजिकिँदै जाँदा संसद् सचिवालयले कोरोनाको स्वाब परीक्षण गर्दै छ । यस क्रममा पोजेटिभहरुको संख्या बढ्नसक्ने प्रमुख सचेतक भट्टराई अनुमान गर्छन् । उनी भन्छन्, ‘कोरोना पोजेटिभ भएका सांसदहरुलाई मत दिने व्यवस्था कसरी मिलाउने भनेरै अहिले म स्वास्थ्य मन्त्रालयमा छलफलका लागि आएको छु । कुनै पनि हालतमा भोट हाल्ने व्यवस्था गरिनेछ ।’ यस्तै, बुधबार संकलन गरीको स्वाबमा अन्य चार जना सांसदमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा जनता समाजवादी पार्टीका तीन जना सांसद छन् भने एक जना नेपाली कांग्रेसकी हुन् । संघीय संसद सचिवालयका अनुसार कोरोना संक्रमित हुनेमा जसपाका सांसदहरू लक्ष्मणलाल कर्ण, नरमाया ढकाल र रामबाबु यादव हुन् । यस्तै, नेपाली कांग्रेसकी सांसद पार्वती चौधरीलाई संक्रमण पुष्टी भएको छ । नेकपा माओवादी केन्द्रका पनि दुई जना सांसद कोरोना संक्रमित छन् । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सांसद सुरेशकुमार राई, पुष्पाकुमारी कर्णलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष खिमलाल भट्टराई पनि कोरोना पुष्टी भएको छ ।