NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

निषेधाज्ञाबीच फुटबल, ललितपुर एफसी र काठमाडौं रेजर्स विजयी

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौंले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् । ललितपुरले बुटवललाई १–० तथा काठमाडौंले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हो । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामासमेत भर पर्नुपर्नेछ । काठमाडौं प्लेअफमा प्रवेश गरेको छ । ललितपुरका लागि खेलको छैटौं मिनेटमा विदेशी नुर्लान नोभु्रजुभ जाहिदले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन । मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औं मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन । ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक बनाएको छ । अर्को खेलमा काठमाडौं रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् । विराटनगरले खेलको छैटौं मिनेटमा नै पहिलो गोल गरेको थियो । उक्त गोल विदेशी एडिलाजाले गरेका हुन् । खेलको २५ औं मिनेटमा सुनिल बलको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए । खेलको ३४ औं मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे । खेलको ३५ औं मिनेटमा काठमाडौंका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१ औं मिनेटमा काठमाडौंका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे । मध्यान्तरपछिको खेलमा काठमाडौंका लागि ६७ औं मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे । खेलको ७९ औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे । यस्तै खेलको ८२ औं मिनेटमा काठमाडौंका लागि छिरिङ गुरुङले पाँचौं गोल गरे । खेलको इञ्जुरी समयमा माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ गोलको अवस्थामा पुर्याए । जीतसँगै काठमाडौं पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । कोरोना संक्रमणको भयावह अवस्थालाई ध्यान दिँदै रंगशालामा दर्शकहरुको शून्य उपस्थितिमा खेल सञ्चालन भएको हो । खेलाडी र उपस्थित प्रशिक्षकहरुलाईसमेत आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर खेल सञ्चालन गरेको आयोजकले बताएको छ ।