NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोरोनाविरूद्धको खोपमा बौद्धिक सम्पत्तिको अवरोध हटाउन अमेरिका तयार

वासिङ्टन । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पत्ति (पेटेन्ट राइट्स) सम्बन्धी अवरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको बताएको छ । कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पेटेन्ट राइट्स सुरक्षालाई छुट दिनुपर्ने पक्षमा आफू रहेको अमेरिकाले बताएको हो । विश्व व्यापार संगठन (डब्लूटीओ) ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पत्तिसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका हुन् । भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको र खास गरी युरोपेली संघअन्तर्गतका मुलुकहरूमध्ये औपचारिक रूपमा समर्थन गर्नेमा फ्रान्स पहिलो बनेको छ । यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाइ छ । करिब एक महिना पहिले डब्लूटी‌ओको बैठकमा पनि उक्त कुरा उठाइएको तर त्यतिबेला यसलाई धनी राष्ट्रहरूले कम महत्व दिएका थिए । बैठकमा स्विट्जरल्यान्ड, नर्वेलगायतका नेताले अनौपचारिक रूपमा चलाएका छलफलमा खोपको व्यापक उत्पादन कोरोना नियन्त्रणको व्यावहारिक उपाय हुने र यसका लागि खोप उत्पादनलाई सहजीकरणमा बल गर्नुपर्ने बताएका थिए । औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शङ्का रहेको बताएका छन् । अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न डब्लूटीओ सदस्यहरूलाई समय लाग्नसक्ने उनले बिहीबार बताइन् । भारत र दक्षिण अफ्रिकाले गएको ६ महिनादेखि खोप उत्पादनको अधिकारलाई सहज पार्दै सबैलाई उत्पादन अधिकार दिनु पर्ने माग गरिरहेका छन् । उनीहरूले डब्लूटीओभित्र झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् । डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिकाले त्यसको विरोध गरेको थियो । बेलायत र युरोपेली संघ पनि विरोधमा थिए । तर अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पको भन्दा फरक मार्ग लिएका छन् । चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइट्समा छुट दिनुपर्ने डेमोक्र्याटिक नेता बर्नी स्यान्डर्स र उदारवादी अमेरिकी नेताको आवाजलाई बाइडेनले समर्थन गरेका थिए भने उनले बुधबार त्यसलाई पुनः दोहोर्‌याएका हुन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुखले यसलाई कोरोना भाइरसविरुद्धको युद्धमा स्मरणीय क्षण भएको बताएका छन् । खोपको बौद्धिक अधिकारमा छुट दिँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरिब देशहरुमा खोप सस्तोमा उपलब्ध गराउन सकिने पक्षधरहरुको भनाइ छ । पेटेन्ट राइट सुरक्षित रहँदा खोपको ‘कम्पोजिसन’ विकास गर्ने संस्था वा देशलाई मात्रै थाहा हुन्छ । यस्तोमा खोपको उत्पादन सीमित कम्पनी वा देशले मात्रै गर्न पाउँछन् । तर पेटेन्ट राइट्समा छुट दिएर खोपको कम्पोजिसन अरुलाई पनि उपलब्ध गराउँदा आवश्यकताअनुसार उत्पादन गर्न सकिने र महामारीलाई चाँडो नियन्त्रणमा लिन सकिने धेरै विकासशील देशहरुको भनाइ छ । (रासस/एपी)