NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोना महामारीकाबीच पनि नाफामा बैंक : नौ महिनामा बाणिज्य बैंकले कमाए साढे ५० करोड

काठमाडौं । कोरोना महामारीकाबीच आर्थिक गतिविधिहरु ठप्पप्रायः छन् । व्यापार व्यवसाय ठप्पै छ भने विप्रेषण आप्रवाहदेखि नयाँ लगानीसम्ममा संकुचन आएको छ । जनजीवन सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यस्तो महामारीमा बैंकहरु भने नाफामै चलिरहेका छन् । मुलुकमा रहेका २७ बाणिज्य बैंक सबै नाफामा छन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेका चालू आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक (चैत मसान्तसम्म)को वित्तीय विवरण अनुसार नौ महिनाको अवधिमा बैंकहरुले ५० करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् । चालू आवको नौ महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा नविल बैंक छ । यो बैंकले तीन करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले तीन करोड ५७ लाख रुपैयाँ कमाएको छ । सबैभन्दा कम नाफा कमाउनेमा सेन्चुरी बैंक छ । नौ महिनामा यो बैंकको नाफा ३५ लाखमात्र छ । अधिकांशको नाफा गत वर्षभन्दा पनि बढी वित्तीय विवरण अनुसार अधिकांशले त गत वर्षभन्दा बढी नाफा गरेका छन् । गत वर्ष त्रैमास अवधिको अन्त्यतिरदेखिमात्र कोभिड १९ को संक्रमणको असर फैलिएको थियो । ११ चैतदेखि देशव्यापी लकडाउन गरिएको थियो । यसर्थ त्रैमास अवधिमा कोभिडको असर खासै ठूलो देखिएको थिएन । तर, चालू वर्षमा सुरुदेखि नै कोरोनाको असर थियो । कात्तिकपछिमात्र कोभिडको असर कम हुँदै गएर बजार र आर्थिक गतिविधि फस्टाउन थालेको थियो । चैतदेखि पुनः कोभिडले असर गर्न थालेको थियो । यद्यपि, कोभिडको असरका बीच बाणिज्य बैंकहरुले नाफा कमाएका छन् । २१ वटा बैंकले त गत वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेका छन् । एनएमबि बैंकले गत वर्षको तुलनामा ८८.७२ प्रतिशत बढी नाफा कमाएको छ । त्यस्तै, कुमारी बैंकले गत वर्षको तुलनामा ७८.२२ प्रतिशत बढी नाफा कमाएको छ । ६ बैंकको नाफा घट्यो ६ बाणिज्य बैंकको भने गत वर्षको तुलनामा नाफा घटेको छ । एभरेष्ट बैंक, हिमालयन बैैंक, स्ट्याण्डर्ड चार्टर्ड, एनसिसि बैंक, नेपाल एसबिआई र्बैक र सेञ्चुरी बैंकको गत वर्षको तुलनामा आम्दानी घटेको छ । कुमारी बैंकको गत वर्षको तुलनामा ६१.५४ प्रतिशत नाफा घटेको छ । त्यस्तै, हिमालयन बैंकको ४४.५९, नेपाल एसबिआई बैंकको ३९.१६, नेपाल सिटिजन्सको ३६.१७, स्ट्याण्डर्ड चार्टर्डको ३४.८१ र एनसिसि बैंकको ५.१७ प्रतिशत नाफा गत वर्षको तुलनामा घटेको छ । ब्याज घटे पनि सञ्चालन आम्दानी बढेकाले नाफा बढ्यो चैत मसान्तसम्म २१ बैकको नाफा बढेको छ । बैंकहरुको ब्याज आम्दानी घटेता पनि अन्य सञ्चालन आम्दानी बढेकाले बैंकहरुको नाफा सकारात्मक देखिएको नेपाल बैंकका सहायक प्रमुख अधिकृत प्रकाश अधिकारी बताउँछन् । केही बैंकहरुले शेयर बजारमा लगानी गरेका कारणले पनि यस अवधिमा सञ्चालन आम्दानीमा वृद्धि भएको उनी बताउँछन् । उनका अनुसार पहिले उठ्न बाँकी रहेको ब्याजले पनि नाफालाई थोरै उकासेको हो । ‘पहिलेको लकडाउनमा ब्याज रिकोभरी ठप्प जस्तो थियो । पछि नर्मल हुँदै गएको र राष्ट्र बैंकले रोकिएको ब्याज रिस्ट्रक्चर गरिदियो, त्यो ऋणमा काउन्ट भयो । यी सबैले गर्दा नाफा बढेको देखिएको हो,’ अधिकारी भन्छन्, ‘साथै राष्ट्र बैंकले एप्रोभल बेसिसको ब्याजलाई पनि आम्दानीमा देखाउन भनेपछि त्यो समेत संचालन आम्दानीमा देखाउँदा नाफामा सकारात्मक प्रभाव देखिएको हो ।’ अब भने नाफा कमाउन गाह्रो पर्ने देखिएको अधिकारी बताउँछन् । २७ वाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्ममा गरेको नाफा र गत वर्षको सोही अवधिसँगको तुलना यस्तो छ :