NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राष्ट्रिय सभा उपनिर्वाचन : एमालेको उम्मेदवार थापा, विपक्षीबाट देवकोटाको मनोनयन दर्ता

काठमाडौं । नेकपा (एमाले) ले वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनको उम्मेदवार रामबहादुर थापालाई बनाउने टुंगो लगाएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा बोलाएको पार्टीका शीर्ष नेताहरुकाे बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको लागि उम्मेदवार तय गरेको हो । जसअनुसार थापा उम्मेदवारी दर्ताका लागि बिहानै हेटौंडा पुगिसकेका छन् । उता कांग्रेस, माओवादी तथा एमालेको खनाल-नेपाल पक्षको समर्थनमा डा. खिमलाल देवकोटाले आफ्नो मनोनयन दर्ता गराएका छन् । बिहान ११ः१५ बजे वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् । यसअघि एमालेको ओली पक्ष पार्टीमा असन्तुष्ट खनाल-नेपाल पक्षलाई विश्वासमा लिन दौडधूपमा थियो । जसअनुसार गत मध्यरातमा प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईलाई भेटेका थिए । एमाले महासचिव विष्णु पौडेलसमेत असन्तुष्ट नेताहरुसँगको भेटवार्तामा व्यस्त थिए । तर खनाल-नेपाल पक्षले आफ्नो बटमलाइन गत २०७५ जेठ २ कै कमिटी, विधान र नेतृत्व रहेको अडान लिएपछि सहमति निस्केको थिएन । ओली पक्षलाई दबाब दिन खनाल-नेपाल पक्षले विपक्षी दलहरु कांग्रेस र माओवादी केन्द्रसँगको गठबन्धनमा देवकोटालाई साझा उम्मेदवार रहेको घोषणा यसअघि नै गरेको थियो । देवकोटाको उम्मेदवारी पर्ने निश्चित भएपछि गत वैशाख १० मै थापालाई उम्मेदवार बनाउने घोषणा गरेको एमाले ओली पक्षलाई झड्का लागेको थियो । राष्ट्रियसभा उपनिर्वाचनका लागि वाग्मती प्रदेशसभाका ११० सदस्य, नगर प्रमुख-उपप्रमुख र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष गरेर २३८ सहित कुल ३३८ जना मतदाता छन् । तर प्रदेशसभामा ओली पक्षका सांसद संख्या राम्रै रहे पनि जनप्रतिनिधिमा विपक्षी गठबन्धनको पल्ला भारी छ । यस्तोमा थापा स्वयम् जित सुनिश्चित नहुने अवस्थामा उम्मेदवार नबन्ने मुडमा पुगेका थिए । तर यसअघि नै उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा नैतिकताको हिसाबले पनि उनलाई पछि हट्न नमिलेको ‌ओली पक्षका एक स्थायी कमिटी सदस्यले बताए । उपनिर्वाचन जेठ ६ का लागि तय भएको छ । यसपछि लुम्बिनी प्रदेशमा पनि उपनिर्वाचन हुँदै छ । जसका लागि जेठ १७ को मिति तोकिएको छ ।