NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बाँकेमा कोरोनाबाट एकैघरका तीन दाजुभाईको मृत्यु

काठमाडौं । कोरोनाको दोस्रो लहरले नेपालमा सबैभन्दा बढी बाँकेलाई नै प्रभावित बनाएको छ । जहाँ दैनिक दर्जन जति मानिसको कोरोना संक्रमणबाट मृत्यु हुने गरेको छ । यस्तै बाँकेमा एकैघरका तीन दाजुभाईको कोरोनाबाट मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–३ का इम्तियाज, एजाज र जहीर अहमदको मृत्यु भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एक–एक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । शुक्रबार विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् । उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीबार र इम्तियाजको शुक्रबार मृत्यु भएको हो । एउटै परिवारका तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए । बिहीबार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।