NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

बिहे भोज खान गएका २५ जनालाई कोरोना संक्रमण भएपछि गाउँ नै सिल गरियो

काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । संक्रमित भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो । बिहीबार गाउँका २९ जनाको स्वाव परीक्षण गरिएकोमा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यति धेरै जना संक्रमित देखिनु स्थानीयवासीको हेलचेक्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि कँडेलले जानकारी दिए । गाउँपालिकामा संक्रमित तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनुपर्ने कँडेलको भनाइ छ । गाउँभर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उनको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविक रूपमा संक्रमणको दर बढेको कँडेल बताउँछन् । जलजला गाउँसँगै अन्य गाउँमा पनि संक्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण सुरु गरेको बताए । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ । विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए । उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए । ‘अहिले संक्रमित भएकाहरु अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्,’ उनले भने, ‘पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहींंबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी परेका छन् । तर अवस्था सबैको सामान्य छ ।’ गाउँ कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । संक्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा संक्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ । अहिले संक्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ । केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ । उक्त विवाहमा करिब ४ सय सहभागी भएको स्थानीयवासीको भनाइ छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।