NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

लापरबाहीले दुईजना बिरामी मरेपछि भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाहीको तयारी

काठमाडौं । अस्पतालको गम्भीर लापरबाहीका कारण कोरोना संक्रमित दुई जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारबाही गर्ने भएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई स्पष्टीकरणको पत्र पठाउने र सोहीअनुसार कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार पीडित पक्ष र अस्पताल व्यवस्थापन पक्षबीच छलफल गराउने क्रममा कारबाही प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए । ‘आज सो अस्पतालमा भएको घटनाका बारेमा पीडित पक्ष र अस्पतालको व्यवस्थापनबीच छलफल गर्यौं । आइतबार हामी अस्पताललाई स्पष्टीकरण सोध्नेलगायतका कारबाही अघि बढाउँछौं,’ उनले भने । पन्ध्र शय्याको स्वीकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको र समयमा अक्सिजनको व्यवस्था गर्न नसक्दा बिहीबार राति अस्पतालमा उपचाररत कोरोना संक्रमितको दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा भक्तपुर कमलविनायकका ४५ वर्षीय र पोखरा स्थायी घर भएका ६० वर्षीय गरी दुई पुरुष छन् । कमलविनायकका पुरुषको सोही अस्पतालमा र पोखराका पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । स्रोतका अनुसार सो अस्पतालमा बिहीबार साँझ २८ कोरोना संक्रमितलाई भर्ना लिइएको थियो । अस्पतालमा दिउँसोदेखि नै अक्सिजनको अभाव भएको र राति एक संक्रमितको अक्सिजन नभएकै कारण मृत्यु भएपछि अस्पतालले धमाधम बिरामीलाई अन्त लैजान आफन्तलाई दबाब दिएको थियो । सोही क्रममा एक संक्रमितको अल्का अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । अस्पतालको चरम लापरबाहीका कारण बिरामीको मृत्यु भएपछि पीडित आफन्तले राति नै अस्पतालमा नाराबाजी गरेपछि झडपको स्थिति आएको थियो । अस्पतालले बिरामीलाई अन्यत्र रिफर गरेको कागजसमेत नदिई बिरामीका आफन्तलाई जहाँ सकिन्छ त्यहीं लैजानु भन्दै १४ बिरामीलाई बाहिर निकालेर अलपत्र पारेको आफन्तको आरोप छ । पीडित परिवार अस्पतालको चरम लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र अस्पताललाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो । अस्पतालले बिहीबार राति १४ बिरामीलाई अन्यत्र लैजान दबाब दिएको थियो । सोअनुसार चारलाई भक्तपुर अस्पताल तथा दुईलाई समिट अस्पताल लगिएको बताइएको छ । यसैबीच उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएका दुई कोरोना संक्रमितको परिवारलाई अस्पतालले क्षतिपूर्ति दिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको पीडित पक्ष र अस्पताल व्यवस्थापनबीच भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको सहायक प्रजिअ केशरीले जानकारी दिए । के कस्तो क्षतिपूर्ति दिने भन्नेबारेमा थप छलफल हुने उनले बताए । ‘आजको छलफलमा पीडित पक्षलाई क्षतिपूर्ति दिने भन्ने सहमति भएको छ । आइतबार थप छलफल गरेर क्षतिपूर्ति तय गर्ने सहमति भएको छ,’ उनले भने । त्यस्तै अस्पताल व्यवस्थापन पक्षले अस्पतालको व्यवस्थापनमा कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिबद्धता बैठकमा गरेको सहायक प्रजिअ केशरीले जानकारी दिए ।