NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रहरीले संकलन गरेको दुई हजार सिलिन्डर अक्सिजन अस्पताललाई दिइयो

काठमाडौं । प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतःस्फुर्त प्रयासबाट अक्सिजन सिलिन्डर जम्मा गर्ने काम तीव्र पारिएको छ । गृह मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिन्डर जम्मा गर्ने कार्य भइरहेको शुक्रबार विज्ञप्ति जारी गरी जनाएको छ । मुलुकका विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार शुक्रबार मात्रै एक हजार ८ सय १६ थान अक्सिजन सिलिन्डर संकलन भएको छ । कोरोना संक्रमित बिरामीका लागि अत्यावश्यक पर्ने अक्सिजन स्वतःस्फुर्त रुपमा उपलब्ध गराउने सबै उद्योग, व्यवसाय तथा व्यक्तिलाई मन्त्रालयले धन्यवाद दिएको छ । यसरी जम्मा हुन आएका अक्सिजन सिलिन्डर स्वास्थ्य र उद्योग मन्त्रालयको प्रत्यक्ष संलग्नता र समन्वयमा शुक्रबार विभिन्न अस्पताललाई वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा अक्सिजनको सहज आपूर्ति तथा न्यायपूर्ण वितरण प्रणालीमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको जानकारी गराउँदै गृह मन्त्रालयले कोरोना उपचारका लागि यसको अभाव हुन नदिन र आपूर्ति सहज बनाउन सबै लाग्नुपर्नेमा जोड दिएको छ । अस्पतालबाहेक अन्य प्रयोजनमा विभिन्न उद्योग, व्यवसाय, आयोजना तथा व्यक्तिसँग रहेका अक्सिजन सिलिन्डर स्वतःस्फुर्त नजिकको अस्पताल वा सुरक्षा निकायमा उपलब्ध गराई मानवीय कार्यमा योगदान दिन मन्त्रालयले अनुरोध गरेको छ ।