NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इजरायल र प्यालेस्टाइनबीचको तनावले लियो हिंसात्मक मोड, झडपपछि तेल अबिबमा संकटकाल

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच गत शुक्रबारदेखि चर्किएको तनावले हिंसात्मक मोड लिएको छ । लगातार हवाई आक्रमण र झडपका घटनाहरु भइरहेका छन् । इजरायलको तेल अबिबनजिकको सहर लोडमा प्रहरी र प्रदर्शनकारीबीच झडपपछि संकटकाल लगाइएको छ । एक दिनअघि प्रदर्शनकै क्रममा मारिएका व्यक्तिको अन्त्येष्टिपछि लोडमा प्रदर्शन सुरु भएको थियो । सुरुवातमा प्रदर्शन शान्तिपूर्ण रहेपनि एकाएक प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि प्रहरीले पनि प्रदर्शनकारीविरुद्ध बल प्रयोग गरेको थियो । प्रदर्शनका क्रममा त्यहाँ कार र बसहरु जलाइएको छ भने सार्वजनिक सम्पत्ति तोडफोड गरिएको छ । प्रहरीसँगको झडपमा १२ जना घाइते भएका इजरायली मिडियाहरुले लेखेका छन् । लोडका मेयरले लोड सहरमा गृहयुद्धको स्थिति बनेको बताएका छन् । इजरायली मीडियाका अनुसार लोडका प्रार्थनास्थल नजिकका कैयौं पसल तथा सवारीसाधनमा समेत आगो लगाइएको छ । यहुदीको समूहले एक अरबीले चलाइरहेको गाडीमा पत्थर बर्साएका समाचार एजेन्सी रोयटर्सले लेखेको छ । यसअघि प्यालेस्टाइन चरमपन्थी समूह हमासले तेल अबिबमा १३० वटासम्म मिसाइल प्रहार गरेको बताएको थियो । इजरायली सेनाले गाजा पट्टीमा रकेट प्रहार गरी एक अपार्टमेन्ट ध्वस्त बनाइदिएपछि त्यसको बदलास्वरुप उक्त प्रहार गरेको हमासको भनाइ छ । रोयटर्सका अनुसार इजरायलले गाजामा ध्वस्त बनाएको अपार्टमेन्ट १३ तले थियो । रकेट हमला गर्नुअघि इजरायलले त्यहाँ रहेका सबैलाई बाहिर निस्कन झन्डै डेढ घन्टाअघि सूचना दिएको थियो । इजरायली सेनाले भने आफ्नो भूमिमा भइरहेको रकेट हमलाको विरुद्ध जवाफी कारबाहीस्वरुप हमासलाई निशाना बनाएको जनाएको छ । सन् २०१७ पछि मध्यपूर्वका यी दुई पक्षबीच हिंसा भड्किएको यो पहिलो पटक हो । हालसम्म भएका झडप र रकेट प्रहारबाट ३१ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । इजरायली क्षेत्रमा ३ जनाको मृत्यु हुँदा प्यालेस्टाइनमा कम्तिमा २८ जनाको मृत्यु भएको बताइएको छ । प्यालेस्टाइन पक्षले मारिनेमा बालबालिकासमेत रहेको जनाएको छ । अमेरिका, बेलायत, युरोपेली संघलगायत अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई हिंसा रोक्न आग्रह गरेका छन् । इजरायल-प्यालेस्टाइनबीच चर्किएको द्वन्द्वबारे बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषद्‌को बैठक बस्ने भएको छ । संघर्षको यो सिलसिला झन्डै उक महिनाअघि पूर्वी जेरुसेलमबाट प्यालेस्टिनी परिवारलाई निकाल्ने चेतावनीपछि सुरु भएको हो । तर उक्त भूमिलाई यहुदीहरु भने आफ्नो जमिन मान्छन् । यसकै बचाउमा शुक्रबार जेरुसेलमको अल-अक्सा मस्जिदबाहिर प्रदर्शनमा उत्रिएका यहुदी र प्रहरीबीच झडपपछि घटनाले हिंसात्मक मोड लिएको हो । उक्त झडपलाई केही वर्षयताकै गम्भीर भनिएको छ । उक्त झडपमा २ सयभन्दा बढी प्यालेस्टिनी र १७ इजरायली प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । अल-अक्सामा नजान इजरायलले चेतावनी दिएपछि प्यालेस्टिनीहरु त्यहीं विरोध गर्न पुगेका थिए । यो मस्जिद इस्लाम धर्मावलम्बीहरुको तेस्रो सबैभन्दा ठूलो पवित्र धार्मिकस्थल मानिन्छ । यसलाई यहुदीहरु टेम्पल माउन्टेनको रुपमा आफ्नो पनि पवित्रस्थल मान्छन् ।