NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कर्णालीमा २१ देखि ३० वर्ष समूहका धेरै संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितहरुमध्ये २१ वर्षदेखि ३० वर्षका उमेर समूह बढी रहेका छन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमण पुष्टि हुने उमेर समूहमा २१ वर्षदेखि ३० वर्षका धेरै रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार यो उमेर समूहका ३६ प्रतिशतमा कोरोना पुष्टि भएको छ । त्यसै, ३१ वर्षदेखि ४० वर्षका उमेर समूहका २५ प्रतिशत, ११ देखि २० वर्षका १४ प्रतिशत, ४१ देखि ५० वर्षका १२ प्रतिशत, ५१ देखि ६० वर्ष उमेरका ६ प्रतिशत, जन्मेदेखि १० वर्षका चार र ६१ वर्षमाथिका तीन प्रतिशतमा कोरोना पुष्टि भएको छ । कर्णालीमा हालसम्म ११ हजार ३ सय ९९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १ सय ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नौ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसंगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कर्णालीमा हालसम्म आठ हजार ७ सय ११ जनाले कोरोना संक्रमण जितेका छन् । जसमा पछिल्लो २४ घण्टामा मात्रै थप २८९ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या चार हजार ५ सय ९ पुगेको छ । आधाभन्दा बढी सुर्खेतका मात्रै कर्णालीका सम्पूर्ण संक्रमितमध्ये सुर्खेतका मात्रै आधाभन्दा बढी रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली सुर्खेतका अनुसार हालसम्मका कर्णालीका जम्मा संक्रमित ११ हजार ३ सय ९९ मध्ये प्रदेशको राजधानी सुर्खेतका मात्रै ६ हजार १ सय ७३ छन् । सुर्खेतपछि धेरै दैलेखाका रहेका छन् भने सबैभन्दा कम संक्रमित मुगुमा भएका छन् । दैलेखमा १ हजार ९ सय ८३, सल्यान ८ सय ३२, जुम्ला ५ सय १२, कालिकोट ३ सय ९२, रुकुम पश्चिम ३ सय ४९, जाजरकोट २ सय ८९, हुम्ला ७०, डोल्पा ४६ र मुगुमा ४३ जना संक्रमित भएका छन् ।