NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमाले नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्तेष्टि

काठमाडौं । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए भने पार्टीका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । कोरोना भाइरसको संक्रमणबाट नेता चौलागाईंको मङ्गलबार निधन भएको थियो । नेकपा (एमाले) पोलिटब्युरो सदस्य रहेका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलागाईं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । त्यस्तै, २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद भएका थिए । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईंको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष पोखरेलले बताए ।