NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोरोनाबाट बढी प्रभावित देशहरुको अवस्था यस्तो छ, भारतमा कूल मृतकमध्ये २० प्रतिशत मात्रै अभिलेख

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । कोरोनाबाट भारतभन्दा धेरै मृत्यु अमेरिका र ब्राजीलमा मात्रै भएको छ । भारतमा हरेक १०० जनामा कोरोना संक्रमितको मृत्यु हुने दर १.१ रहेको छ । तर, अमेरिकामा यो दर १.८ र ब्राजीलमा २.७ रहेको छ । दक्षिण अफ्रिकामा झनै खराब छ । यहाँ हरेक एक सय जना संक्रमितमा ३.४ जनाको मृत्यु भएको छ । कोरोनाबाट भएको मृत्युमध्ये अमेरिकामा मात्रै १८ प्रतिशत, ब्राजीलमा १२.८ प्रतिशत र भारतमा ७.६ प्रतिशत रहेको छ । भारतका कैयौं शहरमा अहिलेसम्म पनि मृत्यु भएको खबर आइरहेको छ । केही रिपोर्टमा मशासनमा कम नदीमा बढी शव बगाउने गरिएको पनि सार्वजनिक भएका छन् । यस्तोमा यहाँ मृतकको सरकारी तथ्यांकमा पनि शंका गर्न थालिएको छ । अक्टुबरदेखि सुरु भएको तेस्रो लहरको प्रकोप अहिले अमेरिकाले पनि झेलिरहेको छ । १० मे मा यहाँ तेस्रो लहरको संक्रमणबाट ३७० जनाले ज्यान गुमाएका छन् । यस्तै ब्राजीलमा सोही दिन एक हजार १८ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५७ जनाको मृत्यु भयो । तर, भारतमा सोही दिन तीन हजार ८ सय ७९ जनाले कोरोनाबाट ज्यान गुमाए । १० मे मा विश्वभर भएको मृत्युमध्ये भारतमा मात्रै ३५ प्रतिशत भएको थियो । भारतमा पछिल्लो १४ दिनमध्ये दुई दिन बाहेक अन्य दिन दैनिक साढे तीन हजारभन्दा बढीको ज्यान गएको छ । केही दिन त मृतकको संख्या चार हजार पनि नाघेको थियो । अमेरिकामा पहिलो लहरका बेला एकै दिन सबैभन्दा धेरै दुई हजार सातसय ५९ जनाको मृत्यु भएको थियो । गत वर्षदेखि सुरु भएको दोस्रो लहर अमेरिकामा भने त्यति घातक देखिएन, जति भारतमा देखियो । तेस्रो लहरका बेला भने एकैदिन सबैभन्दा बढी चार हजार चारसय ६८ जनाले ज्यान गुमाए । यस्तै, ब्राजीलमा पहिलो लरहका बेला एकैदिन सबैभन्दा बढी एक हजार पाँचसय ५४ जनाको मृत्यु भयो । तर, दोस्रो लहरका बेला यहाँ एकैदिन सबैभन्दा बढी चार हजार दुई सय ११ जनाको कोरोनाबाट मृत्यु भयो । यता मेक्सिकोमा पहिलो लहरका समयमा सबैभन्दा बढी ७ सय ९६ मृत्यु भएको थियो । जो दोस्रो लहरमा एक हजार तीनसय ९४ पुग्यो ।भारतमा पहिलो लहरका बेला सबैभन्दा बढी एकैदिन दुई हजार ६ जनाको मृत्यु भएको थियो । तर, दोस्रो लहरका बेला यो तथ्यांक चार हजार एकसय ९४ पुग्यो । भारतमा सबैभन्दा धेरै मृत्युको तथ्यांक यसअघि एक हजार दुईसय ८३ थियो । पहिलो केही संख्या जोड्न बाँकी थियो । जसलाई जोडेपछि दुई हजार ६ आएको थियो । एक हजार दुईसय ८३ को तथ्यांकलाई तुलना गर्ने हो भने दोस्रो लहरमा तीन गुणाभन्दा बढी मृत्यु दर्ता भएको छ । भारतमा कोरोना संक्रमण र मृत्युको सही तथ्यांकलाई लिएर प्रश्न पनि उठेको छ । किनकी परीक्षण जति हुनुपर्ने हो त्यति भएको छैन । बेलायतमा आफ्नो कूल जनसंख्याको २३९ प्रतिशतमा परीक्षण भएको छ । अर्थात यहाँका हरेक नागरिकले करिब २.३९ पटक कोरोना जाँच गरिसकेका छन् । यस्तै अमेरिकामा कूल जनसंख्याको १३७ प्रतिशतभन्दा बढी परीक्षण भएको छ । तर, भारतमा हालसम्म जम्मा २१ प्रतिशतमा मात्रै कोरोना परीक्षण भएको छ । अर्थात् हरेक पाँच जनामध्ये एक जनामा मात्रै परीक्षण भएको छ । भारत परीक्षणको मामलामा ब्राजीलभन्दा पनि पछि छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमध्ये भारतभन्दा पछि मेक्सिको मात्रै छ । जहाँ आफ्नो कूल जनसंख्याको जम्मा ५ प्रतिशतमा मात्रै परीक्षण भएको छ । कम परीक्षण हुनुले कोरोनाविरुद्धको रणनीति बनाउन भारत अन्य देशभन्दा कमजोर सावित भएको छ । विश्व स्वास्थ्य संगठनका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनका भन्छन्, ‘हामी फैसला लिनका लागि पोजेटिभको तथ्यांकमा निर्भर भइरहेका छौं । जहाँ वास्तविक तथ्यांकको तुलनामा निकै ठूलो अन्तर आउने गर्दछ । किनकी ठूलो संख्याभित्र कोरोना संक्रमण देखिएको छैन । र सबै मानिसहरुले परीक्षण गर्न पनि पाएका छैनन् ।’ यसैवर्षको फेब्रुअरीमा केही दिन भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय भन्दा पनि कम रहेको थियो । १५ फेब्रुअरीमा भारतमा जम्मा ७६ जनाको मात्रै मृत्यु भएको थियो । जहाँ विश्वमा सात हजारभन्दा बढी मृत्युको तथ्यांक रेकर्ड भएको थियो । त्यसबेला भारतमा कोरोनाबाट हुने मृत्युमाथि एक सफलता प्राप्त गरेको मानियो । साथै युवाको संख्या अधिक भएको र पर्यावरणमा पर्याप्त भिटामिन डीको मात्रा भएकाले कम मृत्यु भएको दावी गरियो । तर, दोस्रो लहरमा भारतमा ठूलो संख्यामा मृत्यु हुन थाल्यो । अहिले त मृतकको संख्यामाथि पनि प्रश्न उठेको छ । मशानमा लैजाने शव र सरकारले जारी गर्ने तथ्यांकमा निकै अन्तर रहेको बताइँदै आएको छ । भोपालमा आधिकारिक तथ्यांकभन्दा २४ गुणा बढी र लखनउमा तीन गुणा बढी मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैज्ञानिकले एक पत्र लेखे । उक्त पत्रमा भनिएको छ, ‘संक्रमण फैलिनबाट रोक्न हाम्रो असमर्थताले ठूलो मात्रामा महामारीसँग जोडिएका तथ्यांक उपलब्ध भइरहेको छैन । तथ्यांकलाई व्यवस्थित ढंगले जुटाइएको छैन ।’ स्वामीनाथन पनि मृत्युको मामलामा कोरोनाबाट मृत्यु भएकामध्ये करिब २० प्रतिशत मात्रै सरकारी तथ्यांकमा अभिलेख भएको बताउँछन् । एजेन्सीको सहयोगमा