NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गण्डकीका सांसद थापालाई जनमोर्चाको एक घण्टे स्पष्टीकरण

पोखरा । राष्ट्रिय जनमोर्चा (राजमो) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोधेको छ । पार्टीले गरेको निर्णयविपरीत कदम चालेको भन्दै थापालाई स्पष्टीकरण सोधिएको जनमोर्चाले जनाएको छ । तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपाबीचको गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर थापाले पार्टीको निर्णयलाई उल्लंघन गर्दै सत्तारुढ एमालेलाई नै साथ दिने भएपछि उनलाई १ घण्टे स्पष्टीकरण सोधिएको हो । जसअनुसार थापाले पार्टी केन्द्रलाई स्पष्टीकरण दिँदै छन् । गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक भूमिकामा रहेको राजमोका ३ सांसद छन् । उनीहरुको सहयोग जता हुन्छ उतै सरकार गठन हुने अवस्था छ । पार्टीको निर्देशनअनुसार सचेतक पियारी थापाले सोमबार नै गठबन्धनको पक्षमा हस्ताक्षर गर्न ह्रवीप जारी गरेकी थिइन् । पियारी र अर्का सांसद खिमविक्रम शाहीले मंगलबार नै हस्ताक्षर गरेका थिए । पार्टी केन्द्रको निरन्तर दबाबका बीच पनि थापाले भने त्यसमा हस्ताक्षर गर्न अनेक बहानाबाजी गर्दै आएका थिए । गठबन्धनलाई सघाउन राजमोका केन्द्रीय महासचिव मनोज भट्टको नेतृत्वमा केन्द्रीय नेताहरु पोखरामा छन् । भट्टकै नेतृत्वमा दुई दिन बसेको बैठकमा सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । वैशाख २६ मा मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि सो स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई सोही दिन ३ दिनको समय दिएकी थिइन् । नयाँ सरकार गठनको लागि गठबन्धनलाई ३१ जनाको हस्ताक्षर पुर्‍याउनुपर्छ । तर थापाले सहयोग गरे मात्रै गठबन्धनलाई बहुमत पुग्छ । तीन दिनभित्र विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबैभन्दा ठूलो दल हैसियतमा एमालेको संसदीय दलका नेता गुरुङ नै फेरि मुख्यमन्त्री बन्नेछन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अगाडि बढाएको छ । थापालाई राजमोले कारबाही गरे बहुमतका लागि ३० जनाको हस्ताक्षर आवश्यक पर्छ । थापालाई तत्काल पार्टीले कारबाही गरेपछि सभामुखले सूचना जारी गरेपछि उनको सांसद पद गुम्छ । त्यसो भए मुख्यमन्त्रीमा आज कृष्णचन्द नेपालीले नै सपथ लिने सम्भावना रहन्छ । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२, राजमाेका ३ र जसपाका २ जना छन् । ६० सदस्यीय प्रदेश सभामा २८ सांसद एमालेका छन् ।