NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

८२ लाख ५० हजारसहित तीन भारतीय र एक नेपाली पक्राउ

जनकपुरधाम । पर्सामा हुण्डीमा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले बुधबार चारजनालाई हुण्डीको रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको महागढी नगरपालिका ४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, वीरगञ्ज महानगरपालिका ३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्दै आएका भारत विहार राज्यको मोतिहारी रक्सौल १८ का २७ वर्षीय विकास कुमार, मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल ९ का २२ वर्षीय गुड्डुकुमार र भारत विहार राज्य मोतिहारी ५ का १८ वर्षीय साहिल गुप्ता रहेका छन् । हुण्डी कारोबार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँ सहित पक्राउ गरेको थियो । त्यस क्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुईवटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद भएकाे रकममा एक हजार र पाँच सयका नेपाली नोट रहेका छन् । यस्तै, उनीहरूले प्रयोग गरेको ना ८ प ४८९७ नम्बरको मोटरसाइकल, चार थान मोबाईलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।