NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जिम्मेवारीबाट पन्छँदै रूपन्देहीका अस्पताल, बिरामी निरीह

रूपन्देही । कोभिड–१९ संक्रमितका आफन्तले अक्सिजन अभावले जस्तोसुकै परिणाम निम्तिए पनि मञ्जुर हुने ‘उच्च जोखिम सम्झौता’ हस्ताक्षर गरेर बिरामीको उपचार गराउन थालेका छन् । अक्सिजन अभावपछि अस्पतालले संक्रमित भर्ना नगर्ने र उपचार गराइरहेकालाई समेत डिस्चार्ज गरेर बिदा गर्न थालेपछि रूपन्देहीको युनिभर्सल मेडिकल कलेजमा उपचाररत कोभिड संक्रमितका आफन्त सम्झौतापत्रमा हस्ताक्षर गरेर उपचार गर्न बाध्य भएका हुन् । युनिभर्सल मेडिकल कलेजमा कोभिड–१९ संक्रमितको उपचार गराइरहेका एक आफन्तले अक्सिजनकै कारण बिरामीको ज्यान तलमाथि भए अस्पताल, डाक्टर, नर्स वा अन्य कुनै कर्मचारीलाई दोष दिनेछैन भन्ने व्यहोराको अस्पतालको सम्झौतापत्रमा सही छाप धस्काएर आफूले बिरामीको उपचार गराइरहेको बताए । ‘अस्पतालले अक्सिजन सकिएकाले अब तपाईंको बिरामी बचाउन सकिँदैन, लैजानूस भन्यो,’ ती बिरामीको आफन्तले गुनासो गरे, ‘अन्यत्र उपचार गर्ने सम्भावना नभएकाले अस्पतालले राखेको सर्त मानेर राख्न बाध्य भएको छु ।’ यो मेडिकल कलेजमा अहिले १ सय ९० बिरामी उपचाररत छन् । बिरामीका आफन्तहरूका अनुसार, अस्पताल प्रशासनले अधिकांश संक्रमितका आफन्तसँग बिरामी तलमाथि भए पनि जिम्मेवार नहुने सर्त राखेर उपचार गरिरहेको छ ।’ मेडिकल कलेजले भने अक्सिजनको चर्को अभाव भएकाले उपचारमा समस्या परेको जनाएको छ । अस्पतालका अनुसार मंगलबार चितवनबाट एक सय ५० र पोखराबाट एक सय सिलिन्डर ल्याएर बिरामीलाई दिइएको थियो । तर बुधबार आवश्यक अक्सिजनका लागि चितवन पठाइए पनि प्राप्त भएको छैन । रूपन्देहीमा रहेका तीन अक्सिजन उद्योगसँग दैनिक ११ सय सिलिन्डर उत्पादन क्षमता छ । जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार, अहिले मागभन्दा दैनिक १०५० सिलिन्डर अक्सिजनको माग छ ।