NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

‘त्यो पर्दैन’को प्रतिवाद, अब शपथग्रहणमा ‘प्रतिज्ञा’ गर्नुपर्दैन

काठमाडौँ । सरकारले संविधानको धारा ८० को व्यवस्था अनुसार शपथग्रहणसम्वन्धी नयाँ कानून जारी गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्वन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिको कार्यालयलाई सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार नै शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ती मार्फत अध्यादेश जारी भएको जानकारी दिएको छ । अध्यादेशबाट जारी कानूनमा ‘त्यो पर्दैन’ भनेका आधारमा प्रधानमन्त्रीलाई विवादमा तानेको प्रतिज्ञा गर्छु भन्ने शब्दलाई ऐच्छिक बनाएको स्रोतले जनाएको छ । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानुन छैन । यसअघि संविधानसभाका सदस्यहरुका लागि बनाइएको शपथको ढाँचा अनुसार नै मन्त्री, प्रधानमन्त्री, संबैधानिक आयोगका पदाधिकारीहरुको शपथ ग्रहण हुँदै आएको थियो । तर संविधानको धारा ८० मा शपथ सम्वन्धी छुट्टै संघिय कानून हुने उल्लेख छ । अध्यादेशबाट जारी शपथसम्वन्धी कानून २०७८ मा ‘प्रतिज्ञा गर्छु, भन्ने शब्दलाई विकल्पमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । शपथको ढाँचामा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक’ पछि ‘प्रतिज्ञा गर्छु’ र ‘इश्वर’ भन्ने शब्द ऐच्छिक रुपमा प्रयोग गर्न सकिने व्यवस्था भएको छ । त्यसपछिका शपथका शब्दहरु भने अहिलेसम्म प्रचलनमा रहेका शब्दहरु नै रहेका छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द रुचाएका थिएनन् । राष्ट्रपतिले पढेको त्यो शब्द नपढी उनले ‘त्यो पर्दैन’ भनेका थिए । प्रधानमन्त्रीले त्यो पर्दैन भनेकै कारण सपथग्रहणको बैधानिकतामाथि प्रश्न उठिरहेका बेला राष्ट्रपतिको कार्यालयले शपथसम्वन्धी अध्यादेश जारी गरेकी हुन् ।