NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ’

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेंशींसहर नगरपालिका–६ चनौटेमा बस्दै आएका ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्थिन् । उमा सधैं बिहान उठेर घरधन्दा गर्थिन् तर बुधबार बिहान अबेरसम्म सुतिरहिन् । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लागिन् । छोरी श्रृती भने मनिङवाकमा गइन् । उमा भने मस्त निन्द्रमै थिइन् । छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटोसहित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो । ‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु,’ उनले भनिन्, ‘‘एकछिन त आत्तिएँ । मुखैभरि माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन । बिस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ,’ उनले भनिन् । उनले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयबासी छोराछोरी आएर उद्धार गरेका थिए । ‘‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे, उमाले भनिन् । उनको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै थिए । सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उनले बताइन् । आमाले भूकम्प आएको थाहा पाउनासाथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल भएकी थिइन् । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्किएकी छिन् । उमा यतिबेला घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहेकी छिन् । उक्त भूकम्पले उनी मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौं स्थानीय मर्कामा परेका छन् ।