NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

निषेधाज्ञा अटेर गरी हिँड्ने पाँच हजार वटा सवारी साधन र २ सय जना प्रहरीको कारबाहीमा

काठमाडौं । विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लंघन गर्ने क्रम अझै रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २ सय को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लंघनको क्रम कायमै छ । बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८ सय ५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४ सय ९७ गाडी र तीन हजार ३ सय ६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन । नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय ३४ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारबाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । तीन हजार ६ सय ७ जनालाई सम्झाइ÷बुझाइ गरी छाडिएको छ । शुक्रबार नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर संकलन गरिएको छ । संकलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १ सय २० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा नौ हजार ४ सय ४७ वटा सिलिन्डर संकलन गरी सकेको छ ।