NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शक्तिशाली नेतालाई पछारेर संघीयता विज्ञको राष्ट्रिय सभा यात्रा (को हुन् देवकोटा ?)

काठमाडौं । गृह मन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ हराउँदै सक्रिय राजनीति नगरेका डा. खिमलाल देवकोटा बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा विजयी भए । बादलको चार हजार १४ मत आउँदा देवकोटाले पाँच हजार ८८ मत ल्याए । थापालाई नेकपा एमालेले उम्मेदवार उठाएको थियो । देवकोटाले स्वतन्त्त उम्मेदवारी दिएका थिए, यद्यपि, उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन थियो । १० वर्षे जनयुक्त लडेका, पटकपटक मन्त्री भएका र राजनीतिक खेलाडीसमेत रहेका बादललाई सक्रिय राजनीति नगरेका र स्वतन्त्र उम्मेदवार देवकोटाले एक हजार मत अन्तरले हराए । को हुन् देवकोटा ? देवकोटा नेपालमा संघीयता मामिला विज्ञ मानिन्छन् । उनले संयीयताका बारेमा निरन्तर वहस र पैरवी गर्दै आएका छन् । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, अधिकार र प्रवाह गर्नुपर्ने सेवा सुविधा सम्बन्धमा उनले कलम चलाउँदै आएका छन् । देवकोटाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय (यसअघि स्थानीय विकास मन्त्रालय) मा एक दशक विज्ञ भएर काम गरे । राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री कार्यालयमा पनि विज्ञका रुपमा उनले काम गरेका थिए । संघ, प्रदेश तथा स्थानीय तहको बजेट तथा आयोजनाहरुको कार्यान्वयन, कर कार्यान्वयन तथा विवाद, राजस्व तथा खर्च, जनशक्ति व्यवस्थापन लगायतका वित्तीय संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि गठित अन्तर सरकारी वित्त परिषद्को सदस्यसमेत थिए देवकोटा । यसका अतिरिक्त उनी बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष थिए । तर, करिब दुई वर्ष अघि नै त्यहाँबाट राजीनामा दिए । सरकारी निकायमात्र होइन उनी ठूला अन्तर्राष्ट्रिय दातृ निकायहरुमा पनि काम गरिसकेका छन् । उनी विश्व बैंक, युएनडिपी, युनिसेफ, डिएफआइडी लगायतमा पनि विज्ञका रुपमा काम गरिसकेका छन् । देवकोटा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय जर्जिया स्टेट युनिभरसिटीका भिजिटिङ रिसर्च फेलो हुन् । अर्थशास्त्र र आर्थिक विश्लेषणमा स्नातकोत्तर गरेका उनले विकास अर्थशास्त्रमा पिएचडी गरेका छन् । ‘स्वतन्त्र र विज्ञले पनि चुनाव लड्न र जित्न सक्छन् भन्ने सन्देश’ आफ्नो जितले स्वतन्त्र र विज्ञ उम्मेदवारले पनि चुनाव लड्न सक्छन् र जित्छन् भन्ने सन्देश गएको देवकोटा बताउँछन् । आफू राजनीतिक घेराभन्दा बाहिरबाट आएको भए पनि ठूलो राजनीतिक पंक्तीबाट सहयोग पाएको उनी बताउँछन् । राजनीतिक रुपमा जटिल अवस्थामा पनि आफूले चुनाव जितेको बताउँदै उनी भन्छन्, ‘यति जटिल अवस्थामा गृह मन्त्रीसँग चुनाव लड्नु चानचुने कुरा थिएन, सबै राजनीतिक दलको भरोसाले चुनाव जित्न सफल भएँ ।’ संघीयतामाथि निरन्तर आक्रमण भइरहेका बेला यसको रक्षार्थ बलियोगरी आवाज उठाउनु आवश्यक भएको देवकोटा बताउँछन् । संघको फोहोरी राजनीतिक छायाँ प्रदेशमा पुगेको र यसले संयीयताको मर्ममाथि नै प्रहार गरेको उनको बुझाइ छ । त्यस्तै स्थानीय तहले कर्मचारी लगायतको अभावका कारण सोचेजसरी काम गर्न नसकेको उनको अनुभव छ । ‘प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन र स्वतन्त्र काम गर्न दिनुपर्छ ।’ देवकोटा भन्छन् । राजनीतिक दलबाट निर्वाचित सांसदहरुलाई कतिपय अवस्थामा राजनीतिक अनुशासनका कारण स्वतन्त्र आवाज उठाउन नसक्ने अवस्थाकाबीच आफूलाई भने त्यस्तो बन्धन नरहेको उनी बताउँछन् । ‘सिंहदरवार गाउँगाउँमा पुगेको त भनिएको छ, तर नागरिकहरुले त्यसको अनुभूति गर्न पाएका छैनन्,’ देवकोटा भन्छन्, ‘म यसका लागि निरन्तर आवाज उठाउनेछु ।’