NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महन्थलाई प्रधानमन्त्री बन्ने ‘स्वर्णिम’ अवसर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६ जेठमा चालेको राजनीतिक कदम जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने स्वर्णिम अवसर बनेको छ । संविधानको धारा ७६ को उपधारा (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा (४) अनुसार विस्वासको मत नलिने निर्णय गरेका छन् । उनले आफूले विस्वासको मत पाउने स्थिती नभएको कारण सहित उपधारा (५) अनुसार अघि बढउन राष्ट्रपतिलाई सिफारिस गरेका छन् । राष्ट्रपतिले पनि सिफारिस अनुसार भोलि ७ जेठ अपरान्ह ५ बजेसम्मको समय दिएर प्रतिनिधि सभाको कुनै सदस्यले बहुमतको प्रधानमन्त्री बन्न दाबी प्रस्तुत गर्न आव्हान गरिसकेकी छन् । यससँगै ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । राष्ट्रपतिले जम्मा २१ घण्टामा बहुमत पुर्याउने आधार प्रस्तुत गर्न समय दिएपछि ३२ सांसद भएको जसपा निर्णायक बनेको छ । जसपाले संसदभित्र रहेका जुन पार्टीलाई समर्थन गर्छ, त्यही प्रधानमन्त्री हुने संसदको अंक गणित छ । जसपाले आफ्नै नेतृत्वमा सरकार गठनको तत्परता लिँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले सहयोग गर्ने बताइसकेका छन् । जसपाले हिजो ५ जेठमा मात्र ठाकुरलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । खुट्टा दह्रो बनाए भने ठाकुरले कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र आप्mनो दलको ३२ सहित १ सय ४२ मत पाएर प्रधानमन्त्री बन्न सक्छन् । माओवादी केन्द्र जसपा अध्यक्ष ठाकुरको नेतृत्वमा सरकार गठन गर्न सर्मथन गर्न हतारिइरहेको छ । कांग्रेसले पनि केपी शर्मा ओलीको अराजकता रोक्न ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेको छ । महन्थ ठाकुर आफैं भने प्रधानमन्त्री केपी शर्मा ओली निकट देखिएका छन् । ठाकुरले सरकारको नेतृत्व गर्न चाहँदा आफूप्रति तुलनात्मक रुपमा नरम उनलाई ओलीले समेत प्रधानमन्त्रीमा सर्मथन गर्न सक्ने संभावना बलियो बन्दैछ । राष्ट्रपति कार्यालयको आह्वान अनुसार आफ्नो पक्षमा बहुमत जुटाउन ओलीलाई एमालेको १२१ सिटसहित जसपामा ठाकुर पक्षको सहयोग जरुरी छ । ओलीले सहयोग गरेमा ठाकुर १५३ मतका साथ प्रधानमन्त्री बन्न सक्छन् । यता ठाकुरले ओलीलाई सर्मथन गरे भने एमलोको १ सय २१ र जसपा ठाकुर पक्षका १९ सहित १ सय ४० मतका साथ बहुमतको प्रधानमन्त्री बन्न सक्छन् । ६१ सिटको कांग्रेस वा ४९ मतदाता रहेको माओवादी केन्द्रको सरकार बनाउन पनि जसपाकै साथ निर्णायक हुन्छ । दुवैतिर निर्णायक बनेको जसपाका प्रथम अध्यक्ष ठाकुरले प्रधानमन्त्री बन्न चाँहदा त्यो पद जुर्ने सम्भावना अधिक छ । यस अघि २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासको लिंदा जसपा विभाजित थियो । प्रतिनिधि सभामा जसपाका ३० सांसदमध्ये डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका १५ जना सांसदले ओली विरुद्ध मत हालेका थिए । महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए । दुवैतिरका एकएक अनुपस्थित थिए । तर, राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउन भने १९ जना सांसदले हस्ताक्षर गरेका छन् । ठाकुर पक्षले प्रधानमन्त्रीमा ओलीलाई विश्वासको मतदिने मनस्थिति बनाइरहेका बेला दुई हिजो ५ जेठमा ठाकुर र उपेन्द यादवबीच आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय भयो । यसपछि उनीहरुले संयुक्त सहमति पत्रमा पनि सार्वजनिक गरे । ठाकुर र यादवबीच जसपालाई एकतावद्ध राख्ने सहमति भएपछि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन चाहेनन् । जसको परिणाम, भोलि ७ बजे बेलुकी ५ बजेसम्म बहुमत पुर्याउन सक्ने संसद सदस्यलाई प्रधानमन्त्रीको दाबी प्रस्ताव गर्न राष्ट्रपतिले समय दिएकी छन् । यो कदमलाई कांग्रेसले संविधान र संसद मास्ने षडयन्त्र भनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य गगनथापासम्मले यस्तो षडयन्त्रविरुद्ध कांग्रेस अरु दलसँग मिल्नुपर्ने सुरुवाती प्रतिक्रिया दिइसकेका छन् । आफ्नो दलबाट प्रधानमन्त्री बन्ने अवस्था नआए ठाकुरलाई अघि सार्नुपर्ने मत कांग्रेस, माओवादी केन्द्र र जसपाका भट्टराई/यादवहरुले अघि सारेपछि उनलाई प्रधानमन्त्री बन्ने अवसर जुरेको छ । ५ जेठमा जसपाले सरकारमा दाबेदारी गर्नु, ओली विस्वासको मत लिनबाट पछि हट्नु, कांग्रेस र माओवादी केन्द्र संविधान र संसद बचाउन भन्दै ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुले उनलाई प्रधानमन्त्री बन्ने अवसर जुट्दै छ । सरकार गठन गर्न १३६ सांसदको बहुमत चाहिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जसपा यस अघि पनि तयार थिएन । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको दौडमा छैन । अहिलेका लागि कम्तिमा उसको उदेश्य ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउनु हो । त्यसैले यसेबला जसपा नेता महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने स्वर्णिम अवसर जुरेको छ । यस अघि जसपालाई फुटको संघारमा पुर्याउन ओली सफल भएका थिए । ओली मिसन सफल भएमा भने देश ६ महिनाभित्र चुनाव जान सक्छ । बहुमत जुटाउने अवसरओलीलाई पनि त्यसो त जसपाका ठाकुर पक्षलाई मनाएर आफैले बहुमतको सरकारमा दाबी पेश गर्ने अवसर प्रधानमन्त्री ओलीलाई पनि छ । १ सय २१ सिटमा थप १५ सिट आफ्नो पक्षमा उभ्याउन सके ओलीलाई बहुमत पुग्छ । त्यसका लागि जसपाको ठाकुर पक्षलाई मनाउन सके ओलीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार आफैंले पनि प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सक्छने । तर जसपामा नफुट्ने गरी आन्तरिक समझदारी बनेकोले ओलीको यो मिसन सजिलै पुरा हुने संभावना भने न्यून छ । आफ्नै हातमा आई सकेको प्रधानमन्त्री पाउँदा ठाकुर पक्षलाई ओलीसँग जान सजिलो छैन । यसबेला ओलीको एक मात्र अजुर्न दृष्टि भनेको अन्य पार्टीका पक्षमा बहुमत पुग्न नदिएर आफैं चुनावी सरकारको प्रधानमन्त्री बन्ने हो । राष्ट्रपतिबाट २१ घण्टाको छोटो अवधि विपक्षीका पक्षमा बहुमत पुग्न नदिनकै लागि प्रधानमन्त्री ओलीको मिलेमतोमा तोकिएको हो ।