NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोना अपडेट : आज ८,६०७ संक्रमित थपिँदा ७,८९० निको भए, १७७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमितहरु निको हुने दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७ हजार ८९० संक्रमित निको भएका छन् । यस्तै, सोही अवधिमा देशभर ८ हजार ६०७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार देशभरका प्रयोग शालामा २२ हजार ३५३ पीसीआर र ८७३ एन्टीजेन परीक्षण गरिएको थियो । निको हुने र संक्रमित हुनेको संख्यामा शुक्रबार सात सय १७ को मात्रै फरक छ । पछिल्लो समय पीसीआर परीक्षणको दर पनि बढाइएको छ । तर, पनि संक्रमितको संख्यामा दैनिक कमी हुँदै जानुले नेपालमा दोस्रो लहर उच्च बिन्दुमा पुगेको हो कि भन्ने भान पनि हुन्छ । पछिल्लो केही दिनयता संक्रमित हुने र कोरोना जित्नेको संख्या करिब बराबरीमा पुग्न लागेको छ । यस्तै, दुई दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । बिहीबार एकसय ९० जनाको मृत्यु भएकोमा शुक्रबार देशभर कोरोना संक्रमणबाट एकसय ७७ जनाको मृत्यु भएको छ । बुधबार भने हालसम्मकै उच्च दुईसय ४६ जनाको मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ६४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म जम्मा संक्रमितको संख्या चार लाख ९७ हजार ४२ पुगेको छ । यस्तै कोरोनाबाट निको भएकाको संख्या भने तीन लाख ७४ हजार ८३६ पुगेको छ ।