NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

स्वास्थ्य सामग्री व्यवस्थापनका लागि गण्डकीका ७२ पालिकामा बजेट विनियोजन

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् । पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा पाँच लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेका हुन् । कोरोना सङ्क्रमितहरुको उपचारका लागि अक्सिजनसहितको कोभिड–१९ केयर युनिट (आइशोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिन्डर खरिद, फेस मास्क तथा पल्स अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरिएको बताइएको छ । पदबहालीपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरिद र भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताए । पीसीआर परीक्षणको नतिजा आउन ढिलाइ भएकाले समेत सङ्क्रमण तीव्ररूपमा फैलिएको बताउँदै उनले पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिए । सरकारले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने र स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने योजना रहेको बताउँदै मुुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वयन गरी प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, ‘यो संकटको बेला हो, युद्धको बेला हो । महामारीलाई परास्त गर्न सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।’