NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मध्यपहाडी लोकमार्गमा धमाधम कालोपत्रे शुरु

गलकोट । लामो समय जनतालाई निराश बनाउँदै आएको मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि–घोडाबाधे सम्मको सडक खण्डमा पछिल्लो समय केही प्रगति देखिन थालेको छ । अहिले बागलुङ खण्डको घोडाबाधे बिहुँमा कोरोना कहर र रोकथामका लागि निषेधाज्ञाकाबीच सडक कालोपत्रे गर्न शुरु भएको हो । मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे सम्मको २५ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी थालिएको र घोडाबाधेको गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकाम तर्फ सडक कालोपत्रे हुन थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड र मौजुदा कामदारको सहयोगमा कालोपत्रे शुरु भएको हो । लोकमार्ग कार्यालयको ताकेता पछि निर्माण सम्झौता भएको पाँच वर्ष पछि उक्त सडक कालोपत्रे गर्न शुरु भएको हो । अहिले बागलुङ बजारको उपल्लाचौरदेखि अछेतेसम्म धमाधम वेस विछ्याउने र ग्रेडिङ गर्ने काम भइरहेको छ भने बिहु घोडाबाँधेबाट कालोपत्रेको काम शुरु भएको छ । मध्यपहाडीको उपल्लो खण्डको रुपमा रहेको घोडाबाँधेमा ६ किलोमिटर सडक ग्राभेल भई सोमबारदेखि कालोपत्रे गर्न थालिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका इञ्जिनियर उज्वल शर्माले जानकारी दिए । पटक–पटक आयोजनाको ताकेतापछि लोकमार्ग कालोपत्रे शुरु भएको छ । तल्लो सदरमुकाम खण्डमा समेत धमाधम काम भइरहेको छ । सदरमुकाम खण्डको १३ किलोमिटर सडकमा कालोपत्रेको कामका लागि बेस हाल्ने काम भइरहेको छ । तत्तकाल बागलुङ बजार देखि अछेतेसम्मको ८ किलोमिटर र बिहुँ घोडाबाँधेको ९ किलोमिटर सडक कालोपत्रे गर्ने आयोजनाले जनाएको छ । बागलुङको भविष्यसँग जोडिएको लोकमार्गको २५ किलोमिटर सडक दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसीसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । तर पटक पटक म्याद थप्दा समेत आयोजना अझै सकिएको छैन ।